सुनसरी । इटहरी उपमहानगरपालिकाले खोला- पैनी मिचेर बनाएको भौतिक संरचना ३५ दिनभित्र नभत्काए डोजर चलाउने भएको छ । खोला तथा पैनी मिचेर बनाइएका संरचना हटाउने अभियान सुरु गर्न लागेको उपमहानगरले पहिलो चरणमा इटहरीस्थित टेङ्ग्रा खोला, खेती खोला र सुकुमारी पैनीको क्षेत्राधिकार भित्रको जग्गा खाली गर्न आग्रह गरेको छ ।
नगरप्रमुख हेमकण पौडेलले ३५ दिनभित्र पनि अतिक्रमित संरचना नहटाए डोजर चलाएर संरचना हटाएरै छाड्ने बताए ।
टेङ्ग्रा खोला, खेती खोला र सुकुमारी पैनीको दुवै किनारबाट ६/६ मिटर छोडी भवन संरचना बनाउनुपर्ने प्रचलित कानुनलाई आधार मान्दै नगर प्रमुख पौडेलले उक्त खोला पैनीको दुवै तर्फ ६/६ मिटर नछोडी बनेका भवन संरचना ३५ दिनभित्र हटाउन सूचना जारी गरेका हुन ।
इटहरी उपमहानगरले दिएको समयभित्र पनि खोला पैनी मिचेर बनेका अनधिकृत संरचना नहटाए उपमहानगरपालिका आफैले हटाउने र लागेको खर्च समेत सम्बन्धित व्यक्तिबाट असुल उपर गर्ने जनाएको छ ।