सुनसरी । टिपर दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले कोसी प्रदेशका मुख्य सडकमा टिपर सञ्चालनमा टाइम कार्ड लागू गरे पनि कार्यान्वयन हुन नसक्दा दुर्घटना बढेको छ ।
दुर्घटना अत्यधिक बढेपछि कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालयले कार्यालय समय र शिक्षण संस्था खुल्ने र बन्द हुने समयमा प्रदेशको मुख्य सडकमा टिपर सञ्चालनमा रोक लगाएको छ । तर प्रहरीको यो नियमको पूर्ण कार्यान्वयन नहुँदा र टिपर चालकले नियम उल्लङ्घन गर्न नछाडेकै कारण टिपर दुर्घटनामा कमी आउन नसकेको हो ।
आर्थिक वर्ष २०७८-७९ मा कोसी प्रदेशमा टिपरको ठक्करबाट १३ जनाको मृत्यु भयो भने १ सय ५० जना घाइते भए । आर्थिक वर्ष २०७९-८० मा दुर्घटना बढेर १८ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् ।
ट्राफिक प्रहरीका अनुसार ढुङ्गा-गिट्टी बोक्ने टिपर बढी दुर्घटनामा पर्ने गरेका छन् । कमिसनको लोभमा धेरै पटक ढुङ्गा गिट्टी बोक्न तिब्र गतिमा चलाउँदा दुर्घटना हुने गरेको छ ।
हरेक दिन बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म सडकमा धेरै सवारी आवागमन हुने भएकाले टिपर सञ्चालनमा रोक लगाइएको हो । तर टिपरका लागि टाइम कार्ड लागू गरेको ट्राफिक प्रहरीले नियम कार्यान्वयनमा कडाइ नगरेकै कारण दुर्घटनामा कमी आउन नसकेको हो ।