इटहरी । इटहरीको बजार अनुगमनमा बासी र सडेगलेको मिठाई मासु विक्रि वितरण गर्ने गरेको भेटिएकोछ । बासी लगेको मासु बिक्री गने एक पसलमा उपमहानगरले ताला लगाएको छ ।
आज(सोमबार) इटहरी उपमहानगरपालिकाले बजार अनुगमनका क्रममा मिठाई पसल तथा मासु पसलहरुको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा विक्रिका लागि राखिएको मासु दुई तिन दिन देखी राखेको र गलेको अवस्थामा भेटिएको थियो । बीपी चौक स्थित बत्सु मिट सेन्टरले बासी र गलेको मासु विक्रिका लागि राखिएको थियो । खान अयोग्य भेटिएपछि उपमहानगरले सो पसलमा ताला लगाई दिएको छ ।
यस्तै इटहरीका केही मिठाई पसलमा अखाद्य वस्तु भेटिएको छ । बिक्रीका लागि राखेका मिठाई तथा अन्य खाद्यवस्तुमा झिँगा भन्कीएको, किरा परेको भेटिएको थियो । इटहरीको मुख्य बजारमै सञ्चालनमा रहेको नटराज मिठाई पसलमा म्याद गुज्रिएका खानेकुरा भेटिएको थियो ।
मेयर हेमकर्ण पौडेल सहित पुगेको अनुगमन टोलीले सामानको म्याद हेर्न थालेपछि पसलका सञ्चालकले हतार हतार म्याद गुज्रिएको सामान मिल्काएका थिए । मेयर पौडेलकै अगाडी म्याद गुज्रिएको सामान फालेका सञ्चालकले पछि माफी मागेका थिए । उनको पसल माथी कानुनी कारबाही अगाडि बढाईने जनाईएको छ ।
अनुगमन टोलीले इटहरीका विष्णु मिष्ठान्न भण्डार, नटराज मिठाई पसल, हिरा होटल, सगुन स्विट्स, बालाजी मिडाई पसल लगायतका मिठाई पसलको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा अधिकाँस मिठाई पसलमा भान्छा सफा नभएको, म्याद गुज्रिएका खाद्यान्न विक्रीका लागि राखिएको, सरसफाई राम्रोसँग नभएको जस्ता कैफियत भेटिएको थियो ।
बासी र सडेगलेका सामग्री बिक्रीका लागि राखेको, झिँगा र कीरा परेका खाद्यपदार्थ बिक्रीका लागि राखेको पाइएपछि ती नष्ट गरी कानुनी कारबाही अगाडि बढाइएको नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।
बजार अनुगमन चाडपर्व केन्द्रित मात्र हुने गरेको गुनासो बढेपछी अनुगमनलाई नियमित रुपमा निरन्तरता दिएको नगरप्रमुख पौडेलले बताएका छन् ।