सुनसरी । वरिष्ठ फुटबलकर्मी दिलीप राई सम्मानित भएका छन् । कोसी प्रदेश खेलकुद विकास बोर्डले इटहरीमा आइतबार खेलाडी सम्मान कार्यक्रमको आयोजना गरी वरिष्ठ फुटबलकर्मी राईलाई नगद ५० हजार सहित लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरेको हो ।
राई केही महिनाका लागि अष्टेलियामा रहेकाले उनका छोरा जोसन राईले सम्मान पत्र ग्रहण गरेका थिए ।
josan rai
                                                  सम्मान पत्र ग्रहण गर्दै दिलीप राईका छोरा जोशन राई
प्रायजसो सम्मान तथा आसन ग्रहण नरुचाउने राई यसअघि सुनसरी जिल्ला फुटबल सङ्घको आठौँ वार्षिक साधारण सभाको अवसरमा सम्मानित भएका थिए । इटहरीस्थित पर्यटकीय क्षेत्र ताल तलैयामा आयोजित साधारण सभामा दशकौँ देखी नेपाली फुटबलमा उच्च योगदान दिएको भन्दै राई लाई एन्फा सुनसरीले सम्मान गरेको थियो ।

उक्त कार्यक्रममा बोल्दै राईले एन्फा सुनसरी आफ्नै घरपरिवार जस्तो भएकाले सम्मान स्विकारेको बताएका थिए । फुटबलका अभियन्ता एवं पूर्व राष्ट्रिय खेलाडी राई एन्फा सुनसरीका संस्थापक अध्यक्ष समेत हुन ।

बि सं २०१२ सालमा सप्तरीको राजविराजमा जन्मिएका राई अहिले सुनसरी दुहबीमा स्थायी रूपमा बसोबास गर्छन् । लामो समय फुटबलमा बिताएका राई अझै पनि मैदानमा कुनै न कुनै भूमिकामा सक्रिय रहने गर्छन् ।

दुहबीस्थित इलेभेन एरोज क्लबबाट नेपाली फुटबलमा उदाएका राईलाई पूर्वका फुटबलकर्मीहरूले फुटबलको भीष्म पितामह भनेर बुझ्ने र चिन्ने गर्छन् ।

फुटबलप्रतिको उनको लगाव, माया र समन्वयले गर्दा प्रदेश एकमा आयोजना हुने हरेक गोल्ड कपमा सक्रिय उपस्थित हुने राईको सम्मान पत्र पढेर सुनाइदा कार्यक्रम स्थलको माहौल निकै भावुक बनेको थियो ।
dilip dai

राईसङै फिफा असिस्टेन्ट रेफ्री किरण गिरीलाई पनि बोर्डले सम्मान गरेको थियो ।