सुनसरी । लालबहादुर विश्वकर्माको न्यायको माग गर्दै इटहरीमा प्रदर्शन गरिएको छ । सुनसरी जिल्ला अदालतबाट ठगी मुद्दामा १८ महिना जेल र ३ करोड १४ लाख ३३ हजार बिगो तिर्नुपर्ने सजाय पाएका इटहरी-१९ तरहराका गोपाल भनिने लालबहादुर विश्वकर्मा निर्दोष रहेकाले उनलाई रिहा गर्नुपर्ने माग सहित प्रदर्शन गरिएको हो ।

जिल्ला अदालत सुनसरीको फैसलाले अन्यायमा परेको भन्दै पुनरावेदन दिए पनि सुनवाइ नभएको जनाउँदै इटहरी-१९ बरमपुर फूलबारी टोलका लालबहादुरलाई चाँडो न्याय दिन माग गर्दै इटहरीमा चर्को घामका बाबजुद प्रदर्शन भएको हो ।

लालबहादुरका आफन्त तथा छिमेकी सहित इटहरी उपमहानगरपालिका कार्यालय अगाडी भेला भएका स्थानीयले गरिब निमुखाले अदालतबाट न्याय पाउन निक्कै कष्ट भोग्नुपरेको भन्दै नाराबाजी सहित प्रदर्शन गरेका हुन ।

इटहरी-२० तरहरामा २०७२ देखि सञ्चालनमा आएको सिंहदेवी ज्वेलर्समा ज्यालादारीमा गहना बनाउने काम गर्ने लालबहादुरलाई सुनसरी जिल्ला अदालतले ठगी गरेको भन्दै ३ करोड १४ लाख ११ हजार १ सय ४८ रुपैयाँ बिगो र ठगी गरेको अर्को मुद्दामा ७० हजार जरिवाना सहित डेढ वर्ष कैद तोकेको थियो । हाल उनी आठ महिनादेखि सुनसरीको झुम्का कारागारमा छन् ।

कृष्ण विश्वकर्मा, दीपक गजमेर, कमल गजमेर र सीता विकले सञ्चालन गर्दै आएको उक्त ज्वेलर्समा काम गर्दा लालबहादुरले दैनिक एक हजार ज्याला पाउँथे । त्यही ज्यालाले ६ जनाको परिवारको गुजारा चलाउँदै आएका लालबहादुरलाई साहु कृष्णबहादुरले आफू लेखपढ गर्न नजान्ने भन्दै पास बुकमा हस्ताक्षर गर्ने र रकम सङ्कलन गर्ने थप जिम्मेवारी पनि दिएका थिए । तर, त्यही पास बुकमा हस्ताक्षर गरेर अवैध रूपमा बैङ्क तथा वित्तीय संस्था सञ्चालन गरेको आरोपमा जिल्ला अदालत सुनसरीले उनीमाथि मुद्दा चलाएको हो ।

इजाजत नलिई बैङ्किङ तथा वित्तीय कारोबार गरेको र सर्वसाधारणको रकम उठाएर ठगी गरेकामा दोषी ठहर गर्दै उनलाई सजाय तोकिएको छ । जिल्ला अदालतको फैसला विरुद्ध लालबहादुरले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको आठ महिनामा उच्च अदालतले आठ पटक पेसी तोकिसकेको छ । तीमध्ये एक पेसीमा न्यायाधीशले प्रत्यर्थी झिकाउने र अर्कोमा प्रमाण बुझ्ने आदेश दिए ।

त्यसबाहेक चार वटा पेसी हेर्न नमिल्ने र दुइटा स्थगितमा परको छ । नवौँ पेसी साउन १६ गते तोकिएको लालबहादुरकी श्रीमती दिलकुमारी विश्वकर्माले जानकारी दिइन ।

अहिलेसम्मका आठ वटै पेसीका दिन पटक पटक उच्च अदालत विराटनगर धाए पनि कुनै पनि दिन मुद्दाको विषयमा बहस नभएको दिलकुमारीले बताइन ।