इटहरी । कोसी प्रदेशमा सबैभन्दा बढी ट्राफिक नियम उलङ्घन गर्ने मोटरसाइकल चालक देखिएका छन् । मोटरसाइकल र तीव्र गति नै दुर्घटना न्यूनीकरणमा मुख्य चुनौती देखिएको छ ।
गत आर्थिक वर्ष २०७९÷०८० मा कोसी प्रदेशमा सबै भन्दा धेरै मोटरसाइकल चालक कारबाहीमा परेका छन् । कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार ९१ हजार ३ सय ३० वटा मोटरसाइकल चालकले नियम उलङ्घन गरेपछि कारबाही गरिएको हो ।
कोसी प्रदेशमा गत आर्थिक वर्ष २०७९÷०८० मा तीन लाख एक हजार आठ सय ७१ वटा सवारी साधनहरूलाई कारबाही गरिएको छ । जस मध्ये धेरै मोटरसाइकल परेका हुन ।
कारबाही परेका अधिकांशले कागजपत्र नबोक्ने,लाइसेन्स नहुने,लापरबाहीपूर्ण तरिकाले सञ्चालन गर्ने, मोडिफाई गर्ने, गलत ठाउँमा पार्किङ गर्ने जस्ता गलत काम गरेका कारण कारबाहीमा पर्ने गरेको कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्राय अधिकांश मोटरसाइकल चालकहरू पाँच सय देखी हजारको जरिवाना काट्दै हिँड्ने गरेको पाइएको छ । कारबाहीमा पर्ने मोटरसाइकल चालकहरू मध्ये एकै व्यक्ति पटक पटक र दैनिक जसो पनि कारबाहीमा पर्ने गरेको कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार महतोले जानकारी दिए ।
मोटरसाइकललाई व्यवस्थापन गर्नु अहिले चुनौती देखिएको उनले बताए ।
कोसी प्रदेश टा फिक प्रहरी कार्यालयले आज इटहरीमा गत आर्थिक वर्षमा भएको काम कारबाहीको विषयमा पत्रकार सम्मेलन गरी सो बारे जानकारी गराएको हो ।
कार्यालयका अनुसार कार, जिप र भ्यान ७३ हजार ८ सय ७८, टक लहरी ६६ हजार ९ सय ५०, ट्याक्टर २६ हजार ४ सय १५ वटा कारबाहीमा परेका थिए ।
त्यस्तै टेम्पु, अटो र सिटी सफारी १६ हजार ८ सय २५, सार्वजनिक बस र माइक्रो १६ हजार एक सय ९८, टिपर ९ हजार २ सय ७५, अन्य सवारी ९ सय ९३ वटा कारबाहीमा परेका थिए ।
कार्यालयले विभिन्न शीर्षकमा सवारीलाई कारबाही गर्दै आएको छ । जसमध्ये कागजपत्र साथमा नबोकेको ९६ हजार ७ सय ४६ वटा सवारी कारबाहीमा परेका थिए । त्यस्तै लापरबाही साथ सवारी चलाउनेमा ४८ हजार ५ सय ६, क्षमताभन्दा बढी मालसामान बोक्ने ६९ हजार ८ सय ४, रोक्न निषेध तथा पार्किङ निषेध गरिएको क्षेत्रमा राख्ने १५ हजार ६ सय १९, सवारी अनुमति प्राप्त नगरी चलाउने १५ हजार ७२, मापसे गरी सवारी चलाउने ८ हजार ३ सय ६३ वटा सवारी उक्त आर्थिक वर्षका कारबाहीमा परेका थिए ।
यस्तै सिट क्षमताभन्दा बढी सवारी यात्रु राखी चलाउने ७ हजार ७ सय ८५, सडक इजाजत प्राप्त नगरी सवारी चलाउने ७ हजार २ सय ८७, प्रयोजन विपरीत चलाउने ५ हजार २ सय ३१ वटा सवारी कारबाहीमा परेका थिए ।
त्यस्तै तीव्र गतिमा सवारी चलाउने ३ हजार ४ सय ७६ वटा, लेन अनुशासन पालना नगर्ने ३ हजार ४ सय ६७ वटा र ट्राफिक इसारा उल्लङ्घन गर्ने २ हजार ५ सय ३४ वटा कारबाहीमा परेको कार्यालयले जनाएको छ ।
सवारी कारबाहीबाट कोसी प्रदेश कार्यालयले आर्थिक वर्ष २०७९।०८०मा २० करोड सात लाख ३५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ । राजश्व सङ्कलन अघिल्लो आर्थिक वर्ष २०७८।०७९ को भन्दा ११.४२ प्रतिशतले बढी हो ।
सवारी कारबाहीमा गरिएको कडाइसँगै दुर्घटनामा ८.११ प्रतिशतले कमी आएको छ भने मानिसको मृत्यु हुनेको सङ्ख्यामा पनि २२.४१ प्रतिशतले कमी आएको कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
प्रदेशभरि ४ सय ७४ जना ट्राफिक जनशक्ति रहेका छन् । एउटा ट्राफिकले ५४ किलोमिटर सडक हेर्नुपर्ने कार्यालयले जनाएको छ ।