इटहरी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगानाले पार्टीमा खुईल्याउने प्रतिस्पर्धा चलेको बताएका छन् । 

नेपाली काँग्रेसको चलिरेहको केन्द्रीय समिति बैठकमा बोल्दै केन्द्रीय सदस्य ढुंगानाले पार्टीमा सभापति र महामन्त्रीहरुलाई खुईल्याउने प्रतिस्पर्धा चलेको बताए । 

बैठकमा आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य ढुंगानाले कसैले सभापतिलाई कसैले महामन्त्रीहरुलाई त अरु कसैले पदाधिकारीलाई खुईल्याउने काम भएको बताए । 

पार्टीमा रुपान्तरण जरुरी रहेको भए पनि सभापति र महामन्त्रीहरुलाई खुईल्याएर पार्टी नबन्ने ढुंगानाले बताए । 

‘सभापतिलाई गाली गर्दैमा पार्टी रुपान्तरीत हुन्छ भनेर जो साथीहरु लाग्नु भएको छ ’, केन्द्रीय सदस्य ढुंगानाले भने ‘ यो केवल भ्रम मात्रै हो, हो जनताले रुपान्तरण खोजेका छन्, त्यो हाम्रो सोचमा, कार्यशैलीमा,कार्यक्रम र मुद्दामा रुपान्तरण खोजेका छन् । ’

पार्टीमा एकले अर्कालाई खुईल्याउँदै सबैलाई खुईल्याए २०८४ को चुनावमा मुख्यसचिव र सचिवको नेतृत्वमा चुनाव लड्न जाने हो भन्दै प्रश्न पनि गरेका छन् । 

पार्टीको बैठकलाई जनताले हेरिरहेको भन्दै उनले जनताको पक्षमा निश्कर्ष ल्याउने गरी बैठकलाई आवश्यक परे लम्ब्याउन सकिने पनि बताए ।