विराटनगर । इटहरी धरान सडक खण्डको सेउती पुलमा गोली हानी हत्या गरिएका व्यक्ति विराटनगरका रोहित चौधरी भएको खुलेको छ । मेडिकल क्षेत्रमा काम गर्ने चौधरी र उनकी साथी धनकुटाको मुलघाट घुमेर फकिएको खुलेको छ। चौधरी केटी साथीसँग धनकुटा घुमेर फर्किएको अबस्थामा उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। उनी विराटनगरकै सुमना खत्रीसँग धनकुटा घुमेर मोटरसाइकलमा घर फर्कँदै थिए ।
शुक्रवार साँझ करिब साँढे ५ बजेको थियो । एउटा मोटरसाइकल धरानबाट तरहरा तर्फ आउँदै थियो । धनकुटाको मुलघाट तिर घुमेर फर्किएको उनीहरूको मोटरसाइकलमा दुई जना सवार थिए । त्यो मोटरसाइकल धरान र तरहराको बिचमा पर्ने सेउती पुलको सुनसरी तर्फको भागमा रोकियो । त्यहाँबाट करिब एक सय मिटर उत्तर तर्फ मोटरसाइकल अड्याए र उनीहरू त्यही मोटरसाइकलमा अडेस लागेर पानी खान थाले । दिउँसो अत्यधिक गर्मी थियो, उनीहरू घुमेर आएकोले थाकेकोले त्यहाँ एक छिन रोकिने बित्तिकै एउटा समूहले उनीहरूमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । सडक किनारामा मोटरसाइकल रोकेर बसेका बेला पैदल हिँड्दै आइरहेका ३ जना युवाले उनीहरूलाई लुटपाटको प्रयास गरेका थिए ।
विवाद भएपछि गोली त्यो समूह मध्यका एक जनाले नजिकैबाट गोली प्रहार गरेको घटना भएको बेला सँगै रहेकी सुमनाले प्रहरीलाई जानकारी दिएकी छिन् । गोली प्रहारबाट रोहित गम्भीर घाइते भएपछि उनलाई सुमनाले एम्बुलेन्स रोकेर घाइते रोहितलाई बिपी प्रतिष्ठान धरानमा उपचारको लागि पुर्याएकी थिइन् ।
हतियारधारी समूहका दुई जनाले खुकुरी बोकेका थिए भने एक जनासँग पेस्तोल रहेको र पेस्तोल बोकेका व्यक्तिले चौधरीलाई ताकेर हानेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । घटनास्थल धरान र इटहरीको सीमा क्षेत्र हो । मानिसको ओहोर दोहोर भईरहने जङ्गल क्षेत्रमा भएको घटनाको विषयलाई प्रहरीले गम्भीर रूपमा लिएको जनाएको छ। घटना भएको स्थलमा एसपी ढकाल सहितको टोलीले व्यापक अनुसन्धान गरिरहेको जनाएको छ। जङ्गल क्षेत्रमा इटहरी र धरान प्रहरीले सर्च अप्रेसन गरिरहेको एसपी ढकालले बताए । उनले सीमा नाकामा पनि कडाइका साथ चेकजाँच भइरहेको बताए । सुमनालाई चोटपटक नलागे पनि मानसिक रुपमा उनी विक्षिप्त बनेकी छिन् ।