सुनसरी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस प्रजातान्त्रिक पार्टी भएकाले आरोप प्रत्यारोप चल्नु स्वाभाविक भएको बताएका छन् ।

जारी केन्द्रीय कार्य समितिको बैठक आज एक दिनका लागि स्थगित गरेर सुनसरी पुगेका देउवाले नेपाली काँग्रेस सबैभन्दा ठुलो प्रजातान्त्रिक पार्टी भएकाले बैठकमा आरोप प्रत्यारोप हुनलाई स्वभाविकरुपमा लिनुपर्ने बताए ।
डेढ दर्जन केन्द्रीय सदस्यहरू सहित सुनसरी सदरमुकाम इनरुवामा नेपाली काँग्रेसको जिल्ला सम्मेलनको उद्घाटन गर्दै देउवाले केन्द्रीय समितिको बैठक लाइभ गरेर काँग्रेसले उत्कृष्ट काम गरेको दाबी गरे ।

ठुलो पार्टीमा सानातिना समस्या र विवाद आउँदैमा काँग्रेस बिग्रियो, सकियो भन्ने मानसिकता पाल्न नहुने देउवाले बताए । पार्टी भित्रको मतभेदलाई बैठकबाटै टुङ्ग्याएर पार्टी भित्र आन्तरिक एकता भने जरुरी रहेको उनले बताए ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिँदै लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने देउवाको भनाई थियो ।
deuwa1

देउवाले बिपी कोइरालाको ४१ औँ स्मृति दिवसका अवसरमा आज सुनसरीको इनरुवामा उहाँको पूणर्कदको सालिक अनावरण समेत गरे । इनरुवा-९ इनरुवा नगरपालिकाको रु १५ लाखको लागतमा सालिक निर्माण गरिएको सालिक निर्माण सम्पन्न भएको चार वर्षपछि अनावरण गरिएको हो ।

कार्यक्रममा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले पार्टीभित्रको गुटउपगुट त्यागेर काँग्रेस एक जुट हुन नसकेको गुनासो पोखे । उनीहरूले केन्द्रीय समितिको बैठकको फेसबुक लाइभ गर्ने निर्णय लिएर आम कार्यकर्ता, शुभेच्छुक र देश विदेशमा छरिएका नेपालीको ध्यानकृष्ट गरिदिएको भन्दै पार्टी सभापति देउवाको तारिफ गरे ।
उनीहरूले बिपीले देखाएको बाटोमा नेपाली काँग्रेस हिँड्न नसकिरहेको बताए ।