विराटनगर । मोरङको लेटाङमा प्रहरीले लागू औषध विरुद्धको विशेष अभियान अप्रेसन सुरु गरेको छ । अप्रेसन पछि १५ दिनमा १७ जना लागू औषध सहित पक्राउ परेका छन् । गाँजा प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित पक्राउ परेकाहरूलाई प्रहरीले मुद्दा चलाएको छ । केही फरार भएका छन् । लेटाङमा व्यक्तिका घरबाटै प्रतिबन्धित औषधिको खरिदबिक्री हुने गरेको पाइएको छ । घरघरमा भण्डारण गरेर राखिने अवैध औषधि रकम लिएर लागू औषधका प्रयोगकर्तालाई उपलब्ध गराउने गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । बिना इजाजत अवैध औषधि खरिदबिक्री भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट पुगेको टोलीले राति ८ः३० बजेतिर लुसान बर्देवालाई पक्राउ गरेको हो ।
बर्दे वाको घरमा खानतलासी गर्दा स्पासपेन ३ सय १२ र ट्रामाडोल ३ सय ट्याब्लेट बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । प्रहरीले लेटाङका ग्रामीण क्षेत्र लक्षित विशेष ‘अप्रेसन’ चलाइरहेको छ । प्रहरीले असार २८ गते लेटाङबाटै गाँजा सहित ४ जनालाई पक्राउ गरेको थियो । लेटाङ–९ का २२ वर्षीय झुप्पे भनिने वसन्त मगर, २१ वर्षीय संयोग बुर्जा मगर, २० वर्षीय आशुतोष राई र १९ वर्षीय प्रयास राई पक्राउ परेका हुन् ।
प्रहरीले असार २६ गते लेटाङ–३ कृतिमानबाट लागू औषध खैरो हेरोइन ९ब्राउन सुगर० २३ वर्षीय थीरबहादुर राउत र २२ वर्षीय एनोश तामाङलाई पक्राउ गरेको थियो । राउत बिक्रेता र तामाङ खरिदकर्ता हुन् । खैरो हेरोइन खरिद गर्न तामाङ राउतको घरमा पुगेका थिए । उनीहरूबाट ४९ मिलिग्राम हेरोइन बरामद भयो ।
गाँजा र प्रतिबन्धित औषधिसहित असार २० गते लेटाङ–९ का २० वर्षीय दिवाहाङ राई र पवन बाग्दास पक्राउ परे । प्रहरीले खानतलासी गर्दा घरबाट लागू औषध गाँजा आधा किलो तथा प्रतिबन्धित औषधीहरू स्पासपेन २ सय र ट्रामाडोल २ सय ट्याब्लेट बरामद भएको थियो । राई र बाग्दाससँगै गाँजाको अवैध धन्दामा संलग्न रहेको पाइएपछि असार २८ गते थप ४ जना पक्राउ परेका हुन् । प्रहरीले असार २० गते नै लेटाङ–८ का २० वर्षीय सुवास कार्की र २५ वर्षीय लोकेश राईलाई पनि पक्राउ गरेको थियो । घरबाट स्पासपेन ५ सय ५३ र ट्रामाडोल ४ सय ४५ ट्याब्लेट बरामद भएपछि लेटाङ–९ का २६ वर्षीय अभिषेक दर्जी पनि पक्राउ परे ।
असार १६ गते लेटाङका २ वटा घरमा प्रहरीले छापा हानेको थियो । बिना इजाजत प्रतिबन्धित औषधि लुकाएर एवं सञ्चय गरेर घरमा राखेको पाइएपछि लेटाङ–३ का तेजनकुमार राई पक्राउ परेका थिए । प्रतिबन्धित औषधिको कारोबारमा संलग्न लेटाङ–३ का श्यामकुमार लिम्बू फरार छन् ।
लेटाङका ग्रामीण क्षेत्रका घरघरमा पछिल्लो समय लागू औषध एवं प्रतिबन्धित औषधि छ्यापछ्याप्ती फेला पर्न थालेको डिएसपी दाहालले बताए ।