इटहरी । मानवकल्याणमा समर्पित रहँदै सेवा पुर्याएको भन्दै इटहरीमा रहेको मायाघर नेपाल संस्थालाई ५० हजार ५० रुपैँयासहित होमबहादुर–प्रेमकुमारी श्रेष्ठ मातृभूमि पहिचान सम्मान–२०८०’ सम्मान प्रदान गरिएको छ ।

होमबहादुर–प्रेमकुमारी श्रेष्ठ मातृभूमि पहिचान ट्रस्टले सडकमा वेसाहारा भएर रहेका मानिसहरुको सेवा गर्दै आएको मायाघर नेपाल संस्थालाई सम्मान गरिएको हो । 

  संघीय संसद प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगर, ट्रस्टका अध्यक्ष तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठ, राष्ट्रगानका रचयिता व्याकुल माइलाले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सम्मान प्रदान गरेका हुन । 

बेलायतमा बस्दै आएका ट्रस्टका संरक्षक शिवजी श्रेष्ठले ८४ वर्ष पार गरेका आफ्ना बुवा होमबहादुर श्रेष्ठ र आमा प्रेमकुमारी श्रेष्ठको नाममा छ छोरा र चार छोरीले संस्था गठन गरी मातृभूमिको सेवामा समर्पित व्यक्ति–व्यक्तित्व र संघ–संस्थालाई प्रोत्साहन गर्दै सम्मान गर्दै आएको छ । 

 सम्मान कार्यक्रममा बोल्दै उपसभामुख इन्दिरा रानामगरले असहाय व्यक्तिको संरक्षण सरकारले गर्नुपर्ने तर सो दायित्वबाट सरकार चुकेको बताइन् । 

सम्मान ग्रहण गर्दै मायाघर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले २०७४ सालदेखि सुरु गरेको संस्थामा हाल १ सय ४३ जना ज्येष्ठ नागरिक, हिंसापीडित महिला, सडक मानवको उद्धार तथा संरक्षण गर्दै आएको बताइन् ।

 सडकमा वेवारिसे तथा घरबार विहिन भएका व्यक्तिहरुलाई मायाघर नेपालले संरक्षण दिँदै आएको छ ।

प्रदेश सरकारले सडक मानव रहित अभियान सञ्चालन गर्दा सडकबाट नियन्त्रणमा लिएका मानिसहरुलाई पनि मायाघर नेपालमा राखि संरक्षण दिईएको थियो । योसँगै पछिल्लो समय विभिन्न शहरबाट हिंसामा पिडित बनेका र सडकमा वेवारिसे मानिसहरुलाई संरक्षणका लागि मायाघर नेपालमा ल्याउने गरिएको छ ।