सुनसरी । राष्ट्रिय गौरवको तमोर कोरिडोर आयोजना अन्तर्गत पर्ने पुल निर्माणमा ढिलाइ भएको छ ।

कोरिडोरले पूर्वका ताप्लेजुङ र पाँचथर जिल्लालाई छोटो दूरीमा तराइका जिल्लालाई जोड्छ । कोरिडोर अन्तर्गत पाँचथरदेखि धनकुटासम्मको एक सय १० किलोमिटरमा सडक कालोपत्रे गर्न ठेक्का लागिसकेको सकेको छ ।

सडक कालोपत्रे गर्ने ठेक्का लागे पनि यो सडक खण्डका विभिन्न खोलामा बन्नुपर्ने आठ वटा मोटरे बल पुल निर्माणको कामले गति लिन सकेको छैन । तमोर कोरिडोर सडक आयोजना अन्तर्गत सुनसरीको चतरादेखि पाँचथर गणेश चोकसम्मको एक सय १० किलोमिटर भित्रका विभिन्न आठ खोलामा पक्की पुल आवश्यक पर्ने पुल सेक्टर कार्यालय इटहरीका प्रमुख प्रदीप भण्डारीले बताए ।

पुल निर्माण पूरा नभए पनि ताप्लेजुङ र पाँचथरका बासिन्दा ढुवानी र यातायातका लागि यही मार्ग बढी प्रयोग गर्छन् । सडकसँगै पुल नबन्दा उनीहरू समस्यामा पर्ने गरेका छन् । सडक विभाग पुल सेक्टर कार्यालय इटहरीका प्रमुख प्रदीप भण्डारीका अनुसार तमोर कोरिडोरमा पर्ने हेवा, लोरिपा, लखुवा र नावा खोलामा पुल बनाउन डिजाइन स्वीकृत भएको छ ।

रगुवा, कमुवा र भगुवा खोलामा बन्ने पुलेको डिजाइन स्वीकृत हुनै बाँकी छ । बन्नुपर्ने आठमध्ये छरुवा खोलामा १७ करोड रुपैयाँ लागतको १ सय ७० मिटर लामो पक्की पुल निर्माणका लागि प्रारम्भिक काम सुरु भएको प्रमुख भण्डारीले बताए ।

योजनामा रहेका सबै आठ वटै पक्की पुल आगामी एक वर्षभित्र बनिसक्नुपर्ने हो । प्रक्रियागत ढिलाइ र कामको प्रारम्भिक गति हेर्दा समय सीमाभित्रै काम पूरा हुने अवस्था देखिँदैन ।