सुनसरी । कोशी प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि आह्वान गरेका छन् ।

शुक्रबार दिउँसो प्रदेश प्रमुख खापुङले साउन १६ गते मंगलबार साँझ ५ बजेभित्र सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् । 

’नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेशसभाको सदस्यलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरी कोशी प्रदेश सरकार गठन गर्ने प्रयोजनका लागि साउन १६ गते मंगलबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न प्रदेश प्रमुख परशुराम खापुङले आह्वान गर्नुभएको छ,’ प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि बिहीबार सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको थियो । न्यायाधीशत्रय ईश्वरीप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूणर् इजलासले थापाको नियुक्ति बदर गर्दै कोशी प्रदेशमा पुनः नेपालको संविधानको धारा १६८ (२) अनुसार नै एक साताभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख खापुङका नाममा परमादेश जारी गरेको थियो । 

सर्वोच्च अदालतले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अर्को सरकार गठन गर्ने विकल्प रहेसम्म त्यस्तो विकल्प अपनाउनु वाञ्छनीय हुने पनि उल्लेख गरेको छ । ’नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अर्को सरकार गठन गर्ने विकल्प रहेसम्म सो विकल्प अपनाउनु वाञ्छनीय देखिएको, उक्त धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठन गर्न मिल्ने नै अवस्था रहेको,’ सर्वोच्च अदालतको पूणर् इजलासले दिएको आदेशमा भनिएको छ ।