इटहरी । सुनसरीको धरानमा डेङ्गी संक्रमणले महामारीको रुप लिएसँगै इटहरी उपमहानगरले संक्रमणबाट बच्न सतर्कता अपनाउन थालेको छ । इटहरी उपमहानगरपालिकाले इटहरी अस्पतालमा डेङ्गीको शंका लागे परिक्षण गर्न र संक्रमण भए उपचार गर्न निः शुल्क गर्ने भएको छ । 

धरान पछि इटहरीमा पनि डेङ्गीको संक्रमण बढ्न थालेपछि इटहरी उपमहानगरपालिकाले सोमबार कार्यपालिका बैठक बसेर रोकथामका उपाय बारे छलफल गरेको थियो । 

कार्यपालिका बैठकले इटहरी अस्पतालमा डेङ्गी परिक्षण र अस्पतालमा लाग्ने उपचार खर्च निशुल्क गर्ने निर्णय गरेको छ । 

  साथै उपमहानगरले डेङ्गी संक्रमण विरुद्ध खोज र नष्ट अभियान चलाउने पनि निर्णय गरेको छ । अभियानलाई वडा तह सम्म लैजान इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले जानकारी दिएका छन् । 

स्वास्थ्य शाखा तथा इटहरी अस्पताललाई आवश्यक तयारी सहित आभियानलाई तिव्रता दिन निर्देशन पनि दिएको मेयर पौडेलले जानकारी दिए ।