इटहरी । इटहरीको जनता बहुमुखी क्याम्पसमा दलहरूसँग गठबन्धन गर्दै उम्मेदवारी दिएको राष्ट्रिय स्वतन्त्र पाटीले २४ घण्टा पनि नबित्दै उम्मेदवारी फिर्ता लिएको छ ।
क्याम्पसको व्यवस्थापन समितिमा जान रास्वपाले अन्य दलहरूसँग गठबन्धन गरेको थियो । उसले गठबन्धनमा मात्रिका रेग्मीलाई उम्मेदवार पठाएको थियो ।
उम्मेदवारी दर्ता गराएका मात्रिका रेग्मीले आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन् । उनले फेसबुक मार्फत उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन् ।
रास्वपाको कुनै विद्यालय, महाविद्यालय वा विश्वविद्यालयमा राजनीति नगर्ने नीति रहेको र सो नियमको पालना गर्ने भन्दै उम्मेदवार रेग्मीले उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी को कुनै पनि विद्यालय,महाविद्यालय वा विश्वविद्यालयमा राजनीति नगर्ने स्पष्ट केन्द्रीय नीति रहेको मेरो जानकारीमा आएकोले यही नोटिस मार्फत मैले मेरो उम्मेदवारी फिर्ता लिएको र म कुनै पनि गठबन्धनको उम्मेदवार नरहेको सबैमा जानकारी गराउँछु । आफ्नो उम्मेदवारी फिर्ता लिएर मैले पार्टीको नीति र स्पिरिटको पक्षमा उभिन चाहेको समेत स्पष्ट पार्न चाहन्छु ।’


बिहीबार मात्रै इटहरीका राजनीतिक दलहरूले गठबन्धन गरेर क्याम्पसको व्यवस्थापन समितिमा जाने निर्णय गरेका थिए । जहाँ रास्वपा पनि गठबन्धनमा सहभागी भएर भागबन्डामा सहभागी भएको थियो ।
दलहरूको तर्फबाट जारी संयुक्त अपिलमा रास्वपाको तर्फबाट नगर सदस्य हिरामणि घिमिरेले हस्ताक्षर गरेको बताएका थिए । तर दलहरूको बैठकमा रास्वपाका नगर अध्यक्ष जीवन कुमार श्रेष्ठले नै हस्ताक्षर गरेको पत्रकार सम्मेलनमा बताइएको थियो ।
पहिलो पटक सहभागी हुन लागेको भन्दै नगर सदस्य हिरामणि घिमिरे धेरै कुरा थाहा नभएको भन्दै गठबन्धनका सहभागी भएको मात्रै बताएका थिए ।
विद्यामान राजनीतिक दलसँग गठबन्धन गरी विद्यालय राजनीतिमा लागेको भन्दै सार्वजनिक सञ्जालमा आलोचना भएपछि केन्द्रीय नीति नभएको भन्दै केन्द्रबाट उम्मेदवारी फिर्ता लिन दबाब आएको थियो ।
केन्द्रीय नीति भन्दा बाहिर गएर नगर समितिले राजानितिक दलसँग गठबन्धन गर्दै जनता बहुमुखी क्याम्पसको व्यवस्थापन समितिमा जाने निर्णय गरेको थियो ।