इटहरी । इटहरीको एक मात्र सामुदायिक क्याम्पस जनता बहुमुखी क्याम्पस सञ्चालक समितिमा दलीय उम्मेदवार नै हाबी भएका छन् । 
शनिवार सम्पन्न निर्वाचनमा अधिकांश दलीय गठबन्धनका उम्मेदवार नै विजयी भएका छन् । स्वतन्त्र उठेका ३ जना मात्रै विजयी हुन सफल भएका छन् ।  
 निर्वाचनमा १३ पदका लागि ३२ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । निर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ ।
क्याम्पसका कुल ७ सय २९ परिषद् सदस्य मध्ये निर्वाचनमा ६ सय ४ मत खसेको थियो भने १३ मत बदर भएको थियो । प्रतिस्पर्धामा शेखर लुइँटेलले सर्वाधिक मत ल्याएका छन् । उनले कुल सदर ५ सय ९१ मतमा ४ सय ८ मत प्राप्त गरेका थिए । 
दलीय गठबन्धन भन्दा बाहिरबाट उम्मेदवारी दिएका कुलबहादुर कार्की( राजकुमार)ले पनि दोस्रो धेरै मत ल्याएर विजयी भएका छन् । उनले ३ सय ९९ मत पाएका छन् । 
सञ्चालक समितिका लागि नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाले दलीय गठबन्धन गर्दै निर्वाचनमा होमिएका थिए । 
 सुरुमा रास्वपा पनि गठबन्धनमा सामेल भएको थियो । तर केन्द्रीय नीति भित्र नपर्ने भन्दै केन्द्रीय नेताले फिर्ता लिन लगाए पछि रास्वपा गठबन्धनबाट बाहिरिएको थियो । उम्मेदवारी पनि फिर्ता लिएको थियो । 
दलीय गठबन्धनलाई चुनौती दिँदै स्वतन्त्र रूपमा उम्मेदवारी परेको थियो । स्वतन्त्र उम्मेदवारी दिएका ३ जना विजयी हुन सफल भएका छन् । जसमा कुलबहादुर कार्की, उर्मिलादेवी कटुवाल र गङ्गाप्रसाद भट्टराई विजयी भएका हुन । 
दलीय गठबन्धनको तर्फबाट विजयी हुने उम्मेदवारहरूमा नेपाली काँग्रेसको तर्फबाट शेखर लुइँटेल,विकास केसी, अम्बिका श्रेष्ठ, तीर्थराज पराजुली, शिवराज दाहाल हुन । 
नेकपा एमालेबाट ईश्वर भट्टराई,दिनेशकुमार भट्टराई, रेवतीप्रसाद घिमिरे हुन । २ जना उम्मेदवार पाएको राप्रपाबाट युग प्रिय निरौला, विकल रेग्मी विजयी भएका छन् । 
गठबन्धनमा सहभागी भएको माओवादी केन्द्रका उम्मेदवार मुक्तिनाथ रिजाल भने पराजित भएका छन् । यस्तै एमालेमा तर्फबाट भैरव सापकोटा पनि पराजित भएका छन् । 
१७ सदस्यीय समितिको लागी ४ सदस्य मनोनीत हुने व्यवस्था छ । जसपाले मनोनीतमा भाग पाउने दलहरू बिचमा सहमति रहेको जनाइएको छ ।
 समितिमा थप ५ जना पदेन सदस्य रहने व्यवस्था छ । मनोनीत सहित निर्वाचित समितिले अध्यक्ष,उपाध्यक्ष सचिव सहितका पदाधिकारी चयन गर्ने विधानले व्यवस्था गरेको छ ।