सुनसरी - सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दमक नगरपालिकाका बिवादास्पद प्रमुख प्रशासकीय अधिकृत डमरु प्रसाद निरौलालाई मन्त्रालय तानेर गणेशराज कार्कीलाई पठाएको छ ।
निरौलाले कार्यालयको क्वार्टरभित्रै एक महिलासँग गरेको अनैतिक गतिविधिको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि उनलाई यसअघिकै मन्त्रालय तानिएको थियो । कार्कीलाई दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा पठाएर निरौलालाई मन्त्रालयको अतिरिक्त समूहमा थन्काइएको छ ।
मन्त्रालयको मङ्गलवार भएको निर्णय अनुसार दमक नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा तारेकेश्वर नगरपालिका काठमाण्डौमा दरबन्दी भएका कार्कीलाई पठाइएको उल्लेख छ । अधिकृतको क्वार्टरमा मदिरा सेवन गरी लट्ठ भएकी एक महिलाले आफ्नो टिकटक लाइभमै निरौलासँग अनैतिक गतिविधि र संवाद गरेको बाहिरिएपछि उनको मात्र नभएर दमक नगरपालिकाको नै चर्को आलोचना भएको थियो ।
भिडियोमा देखिने महिलाले निरौलालाई श्रीमानको रूपमा सम्बोधन गरे पनि उनी निरौलाकी पत्नी भने होइनन् । भिडियोमा महिलालाई अङ्कमाल गर्दै निरौला मदिराले लट्ठ देखिएका थिए । निरौलाका दुई सन्तान र श्रीमती भने काठमाडौँमा बस्दै आएका छन् ।
विगतमा ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी भएका बेला पनि निरौला यस्तै गतिविधिका कारण कारबाहीमा परेका थिए ।
करिब ५ वर्षअघि झापामा सहायक प्रमुख जिल्ला अधिकारी रहेका बेला उनी जग्गा किर्ते काण्डमा संलग्न भएको पाइएको थियो ।