विराटनगर । संखुवासभा जिल्ला कारागार खाँदबारीमा मृत्युु भएका कैदीबन्दीलाई प्रहरीले निर्घात कुटपिट गरेको खुलेको छ ।
घटनाको प्रारम्भिक अनुसन्धानबाट मृत्यु हुनुअघि कैदीलाई प्रहरीले निर्घात कुटपिट गरेको प्रदेश प्रहरी कार्यालय श्रोतले जनाएको छ ।
जिल्ला कारागारमा रहेको सी सी टीभी फुटेजमा प्रहरीले कैदीलाई कुटपिट गरेको देखिएको हो।
प्रहरी स्रोतका अनुसार कारागार भित्रै कैदीमाथि लाट्ठी र मुक्काले बारम्बार प्रहार गरेको सीसी क्यामेरा फुटेजमा देखिएको छ ।
प्रहरीले कुटपिटको घटनामा सम्लग्न रहेको आरोपमा १० जना प्रहरीलाई नियन्त्रणमा लिएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख राजेश नाथ बास्तोलाले कारागारको सुरक्षामा खटिएका १० जना प्रहरीलाई नियन्त्रणमा लिएको बताए।
उनले कारागारको सुरक्षामा खटिएका प्रहरीले कैदीलाई कुटेको बताए ।
प्रहरीले निरन्तर दिएको यातना र गरेको कुटपिटका कारण कैदीको मृत्यु भएको भन्दै छानबिन गरेर घटनाका दोषीउपर कडा कारबाही गर्न चौतर्फी दबाब परेपछि सी सी टी भी फुटेज अनुसन्धान भएको थियो ।
कारागारको सुरक्षामा रहेका असइ लक्ष्मी चौधरी, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार अमृतबहादुर कार्की, जवानहरू सनोज सोडमी, मुकेश विक, पवनकुमार महतो, नुसन राई, मनिष राई, दमनसिंह राई र सुमन गुरुङलाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
कारागारको शौचालयको झ्यालका रड काटेर भाग्न खोजेको भन्दै कैदीहरू संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीलाई बुधबार बिहानका राति १ बजेतिर प्रहरीले नियन्त्रणमा लिएको थियो।
कारागार प्रशासनको जिम्मा लगाएर पुनः कारागारभित्र हालिएपछि कैदीबन्दीबीच झडप एवं कुटपिट हुँदा तोलाङ्गी र बलामीको मृत्यु भएको दाबी संखुवासभा प्रहरीको थियो।