सुनसरी । सुनसरी-मोरङ सिचाइ आयोजनाको नहर पुन अतिक्रमणको चपेटामा परेको छ ।
सरकारले ठुलो धनराशि र बल प्रयोग गरेर पटक पटक अतिक्रमित जग्गा खाली गराएको भए पनि अहिले सिँचाइ आयोजनाको आग्रहलाई अटेर गर्दै पुनः सयौँ घर टहरा बनेका छन् ।
घर टहरा भत्काएर सुनसरी- मोरङ सिँचाइ अयोजनाले त्यस क्षेत्रमा पुनः सर्वसाधारण तथा सङ्घ/संस्थालाई कुनै प्रकारको अतिक्रमित गतिविधि नगर्न पटक पटक सार्वजनिक सूचना नै जारी गर्ने गरेको छ ।
तर सिँचाइ आयोजनाको आग्रहलाई अटेर गर्दै सुनसरीको वराहक्षेत्र, रामधुनी, इटहरी र मोरङको बुढीगंगा, ग्रामथान, बेलबारी लगायतका स्थानीय तहमा जथाभाबी घर, टहरा देखी सुविधा सम्पन्न पक्की भवन समेत निर्माण गरिएको छ ।
सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित चतराबाट मोरङको केरौनसम्म ५३ किलोमिटर नहरको डिलमा अहिले सयौँ घर टहरा बनाइएका छन् ।