सुनसरी । सांसद सुनिल शर्मालाई सुनियोजित रुपमा फसाउन पक्राउ गरिएको नेपाली काँग्रेस मोरङ क्षेत्र नम्बर ३ समितिले जनाएको छ ।
आफ्नो आधिकारीक धारणा सार्वजनिक गर्दै नेपाली काँग्रेसको क्षेत्रीय समितिले आज(शुक्रबार) एक विज्ञप्ती जारी गर्दै पक्राउ प्रति आपत्ति जनाएको हो ।
मोरङ क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति गणेश कुमार खड्काद्वारा जारी विज्ञप्तिमा सभामुखलाई जानकारी नदिई संसदीय मर्यादा विपरीत र अदालतको पक्राउ पुर्जी बिना नै पक्राउ गर्नु गलत भएको उल्लेख छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो( सिआईबी) ले सांसद शर्मालाई अपहरण शैलीमा पक्राउ गरेको भन्दै क्षेत्रीय समितिले घोर भर्त्सना र निन्दा गरिएको छ ।
पछिल्लो समय गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै आएका शर्मालाई विभिन्न बाहना झिकी पक्राउ गरिएको विज्ञप्तीमा भनिएको छ ।
आर्थिक सङ्कटको समयमा विकृति, विसङ्गति र भ्रष्टाचार विरुद्ध अभियान चलाएका शर्मालाई पक्राउ गर्नु भ्रष्ट, तस्करी र माफियालाई संरक्षण गर्ने सरकारको रणनीति प्रस्ट भएको काँग्रेसको क्षेत्रीय समितिले ठहर पनि गरेकोछ ।