विराटनगर । युवा दिवसका अवसरमा लायन्स क्लब अफ विराटनगर मेट्रोको आयोजनामा युवा अधिकार तथा दायित्वका विषयमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
विराटनगरको जेनिथ कलेजमा आयोजित गोष्ठीमा ६० भन्दा बढी युवाको सहभागिता रहेको थियो । गोष्ठीमा विराटनगर मेट्रोका सचिव निराकार पोखरेलले युवा अधिकारका बारेमा सहजीकरण गरेका थिए । अशोक सिवाकोटीले युवा बिचमा हुनु पर्ने सञ्चारका बारेमा सहजीकरण गरे । संस्थापक अध्यक्ष कैलाश खाकी श्रेष्ठले युवाका दायित्वका बारेमा जानकारी गराउँदै सहभागीलाई विभिन्न समूहमा विभाजित गर्दै कार्यशाला सञ्चालन गरेका थिए ।
युवा दिवसका अवसरमा युवा नै सहभागी भएर युवालाई नै तालिम प्रदान गरिएकोमा युवाहरूको लागि सिकाइको आधार बनेको सहभागीहरूले बताएका थिए । कार्यक्रममा सहभागी जीवन यादव र लता गुरुङले युवा सहभागिता, जीवनमा आइ पर्ने चुनौती र अवसरको बारेमा जानकारी प्राप्त भएको बताए । कार्यक्रम क्लबका प्रथम अध्यक्ष नरेश कुमार साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।