विराटनगर । नेपाली काँग्रेसका सांसद डा.सुनिल शर्माले सङ्कटमा साथ दिएकाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएको बताएका छन् । नेपाली काँग्रेसले मङ्गलवार मोरङको पथरीशनिश्चरेमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले ओलीलाई भेट्न उनको निवास बाल कोट जानुको कारण कार्यकर्ता समक्ष स्पष्ट पारेका हुन् ।
सुन तस्करी गरेर राज्यलाई करोडौँ, अरबौँ राजश्व छली भइरहेकाले त्यसको विरुद्धमा बोल्दा आफूलाई षड्यन्त्रपूर्वक हिरासतमा पुर्‍याइएको उनले बताए । आफूमाथि अन्याय हुँदा आफ्नै पार्टीका कतिपय जिम्मेवार व्यक्ति मौन बसेको भन्दै उनले दुःख व्यक्त गरे ।  प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले पक्राउको विरोधमा बोलेर आफूलाई सङ्कटका बेला साथ दिएकाले ओलीलाई भेट्न गएको उनले सुनाए । ‘सङ्कटमा जसले बचायो त्यसलाई पहिले अङ्गालो मारिन्छ, शर्मा भन्छन्, 'हो मैले पनि त्यही कारण केपी ओली जिन्दाबाद भनेको हुँ, उनलाई भेट्न पनि गएको हुँ ।’
आफूलाई गिरफ्तार गराउन काँग्रेस भित्रकै कतिपय जिम्मेवार व्यक्ति लागिपरेको उनले आशङ्का व्यक्त गरे । बालकृष्ण खाँडलाई पक्राउ गराउने समूहले नै आफूलाई पनि फसाउने योजना रचेर पक्राउ गराएको आरोप लगाए ।  कतिपय व्यक्ति विरुद्धमा लागे पनि पक्राउ पर्दा आफूलाई धेरैले साथ दिएको भन्दै उनले सङ्कटमा साथ दिने सबैलाई धन्यवाद दिए । गलत काम भइरहँदा टुलुटुलु हेरेर बस्न नसकिने भन्दै उनले गलत कामको सधैँ विरोध गरेर जनताको पक्षमा बोलिरहने बताए ।