विराटनगर । कोशी प्रदेश सरकारले तेस्रो पटक मन्त्री परिषद् बिस्तार गर्ने  तयारी गरेका छन् । कोशीका मुख्यमन्त्री उद्धव थापाले बुधवार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।  उनले प्रदेशसभाका ज्येष्ठ सदस्य काँग्रेसका गयानन्द मण्डल गनगाईलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त गर्न लागेका हुन् । मण्डललाई आजै पद तथा गोपनीयताको शपथग्रहण गराउने तयारी गरिएको मुख्यमन्त्री थापाको सचिवालयले जनाएको छ ।
साउन १६ गते मुख्यमन्त्री नियुक्त भएपछि थापाले माओवादीका बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना, नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार विकास र काँग्रेसका प्रदीपकुमार सुनुवारलाई खानेपानी, सिँचाइ तथा मन्त्रीसन्त्री नियुक्त गरेका थिए ।   मुख्यमन्त्री थापाले दोस्रो पटक  साउन २६ गते दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरी जनता समाजवादी पार्टीकी एक मात्र  प्रदेश सभा सदस्य निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्री नियुक्त गरेका थिए ।  निरन्तर सरकार बिस्तार गर्दै आएका थापाले अझै केही मन्त्रालय आफैँ मातहतमा राखेका छन् । मुख्यमन्त्री थापाले  आन्तरिक मामिला तथा कानुन, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास र उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मन्त्री नियुक्त गर्न सकेका छैनन् । गठबन्धन सरकार भित्रको चरम विवादका कारण मुख्यमन्त्रीले  विभागीय मन्त्रालयमा मन्त्री नियुक्त गर्न नसकेका हुन्  ।  जसपाका सांसद लिम्बुलाई कोशी प्रदेशको नाम नै परिवर्तन गर्छु भन्ने वाचा दिएर सरकारमा ल्याएर आफूलाई सुरक्षित बनाउने प्रयास गरेका मुख्यमन्त्री थापाले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा ज्येष्ठ सदस्यलाई पनि राज्य मन्त्री बनाउन लागेका हुन् । मण्डल कोशी प्रदेश सभाका सबैभन्दा ज्येष्ठ सदस्य हुन् ।