विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले तेस्रो पटक मन्त्री परिषद् बिस्तार गरेका छन्  ।  मुख्यमन्त्री थापाले बुधवार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्  ।  उनले बुधवार प्रदेशसभाका ज्येष्ठ सदस्य काँग्रेसका गयानन्द मण्डल गनगाईलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  मण्डललाई आजै पद तथा गोपनीयताको शपथग्रहण गराइएको छ।  कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा मुख्यमन्त्री थापाले शपथ गराएका हुन्  । 
साउन १६ गते मुख्यमन्त्री नियुक्त भएपछि थापाले माओवादीका बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना, नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार विकास र काँग्रेसका प्रदीपकुमार सुनुवारलाई खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री नियुक्त गरेका थिए ।   मुख्यमन्त्री थापाले दोस्रो पटक  साउन २६ गते दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरी जनता समाजवादी पार्टीकी एक मात्र  प्रदेश सभा सदस्य निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्री नियुक्त गरेका थिए । निरन्तर सरकार बिस्तार गर्दै आएका थापाले अझै केही मन्त्रालय आफैँ मातहतमा राखेका छन् । मुख्यमन्त्री थापाले  आन्तरिक मामिला तथा कानुन, पर्यटन वन तथा वातावरण, सामाजिक विकास र उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मन्त्री नियुक्त गर्न सकेका छैनन् । गठबन्धन सरकार भित्रको चरम विवादका कारण मुख्यमन्त्रीले  विभागीय मन्त्रालयमा मन्त्री नियुक्त गर्न नसकेका हुन्  । 

जसपाकी सांसद लिम्बुलाई कोशी प्रदेशको नाम नै परिवर्तन गर्छु भन्ने वाचा दिएर सरकारमा ल्याएर आफूलाई सुरक्षित बनाउने प्रयास गरेका मुख्यमन्त्री थापाले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा ज्येष्ठ सदस्यलाई राज्यमन्त्री बनाएका हुन्  ।  थापाले यस अघि स्वास्थ्य मन्त्रीमा नियुक्त गरेकी निर्मला लिम्बुले कोशी प्रदेश काटेर शपथ लिएपछि थापाको सरकारको आलोचना हुँदै आएको छ। कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिएकी लिम्बुले कोशी प्रदेश उच्चारण नै गर्न नचाहेर काटेर शपथ लिएकी भए पनि उनी कोशी प्रदेश सरकारको मन्त्रीकै रूपमा रहेकी छिन् ।