सुनसरी । नेपाल मुस्लिम सङ्घ सुनसरीको अधिवेशन विवादित बनेको छ ।
सङ्घको जिल्ला अधिवेशन प्रति स्वयं सभापति र सदस्यहरूले आपत्ति जनाएपछि अधिवेशन विवादित बनेको हो ।
मुस्लिम सङ्घ जिल्ला कार्य समिति सुनसरीका सभापति अजमल आजादले बुधवार पत्रकार सम्मेलन मार्फत जिल्लालाई बाइपास गरेर गरिने कार्यक्रमको औचित्य माथि प्रश्न उठाउँदै आपत्ति जनाएका छन् ।
प्रदेश कमिटीको अगुवाइमा अधिवेशन बोलाइएको प्रति रोष प्रकट गर्दै आजादले जिल्ला समितिलाई बाइपास गरी गर्न खोजिएको अधिवेशन विधान विपरीत र औचित्य विहीन भएको बताए । उनले प्रदेश सांसद तथा कोसी प्रदेशका मुस्लिम सङ्घ सभापति इसराइल मन्सुरीले राजनैतिक प्रतिसोध साँधेर जबरजस्ती कार्यक्रम आयोजना गर्न खोजेको आरोप समेत लगाए ।
उनले सहमतिमा कार्यक्रम गर्ने तयारीका बाबजुद एकलौटी गर्न खोजिएको भन्दै प्रदेश सांसद मन्सुरीलाई जिल्ला प्रतिनिधि स्विकार्य हुन नसक्ने बताए । दलीय भागबन्डा र कोटाले काँग्रेस दलदलमा फस्दै गएको बताएका आजादले जबरजस्ती कार्यक्रम सम्पन्न गरिए त्यसले पार्टी सङ्गठनमै आँच पुर्याउने तर्फ सचेत रहन केन्द्र र जिल्ला नेतृत्वको ध्यानाकर्षण गराए ।
नेपाल मुस्लिम सङ्घ नेपाली काँग्रेसको भातृ संस्था हो । जसको जिल्ला अधिवेशन आज बुधवार लाई बोलाइएको छ ।
उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई प्रमुख अतिथिका रूपमा बोलाइएको छ ।