विराटनगर । नेकपा माओवादी केन्द्रको प्रदेश कमिटीको पूर्ण बैठक पहिचानको आन्दोलनलाई निरन्तरता दिने धारणा सहित सकिएको छ । बुधवार विराटनगरमा भएको प्रदेश कमिटीको बैठकमा  कोशी प्रदेश नामकरणको बारेमा चर्को विरोध भएको थियो ।  बैठक सुरु हुँदै गर्दा प्रदेशको नामकरण कोशी राखिएको बारेमा पार्टीको तर्फबाट केही प्रदेश कमिटीका सदस्यहरूले धारणा माग गरेपछि बैठक अघि बढ्न सकेको थिएन । बैठक नै अघि बढ्न नसकेपछि  नेकपा माओवादी केन्द्र दलको तर्फबाट दलका नेता तथा केन्द्रीय कमिटी सदस्य इन्द्रबहादुर आङ्बो (मौसम)ले  पहिलो ५ वर्ष नाम आउन नसक्नुको अवस्था र अहिलेको अङ्कगणितको बारेमा स्पष्ट पारेका थिए । 
पहिचानको मुद्दा लिएर हिँडेको नेकपा माओवादीले नामकरणको विषयमा चुकेको भन्दै सदस्यहरूले आलोचना गरेपछि आङ्बोले प्रदेशको अवस्था र सदस्य सङ्ख्याको आधारमा यस्तो निर्णय लिनु परेको स्पष्ट पारेका थिए । पहिचानको विषयमा अहिलेलाई मिलाउँदै लग्ने तर नाम संशोधन हुन नसक्ने बारेमा बैठकमा जानकारी गराएका थिए ।  नामकरणको विषयमा ५ जनाले कडिकडाउ गरेपछि आङ्बो जवाफ दिन तयार भएका थिए ।  ‘कोशी प्रदेश नामकरण गर्ने विषय दलले नै गरेको निर्णयको आधारमा प्रदेश सभा सदस्यहरूले मतदान गरेको हो, आङ्बोले बैठकमा भनेको कुरा उल्लेख गर्दै बैठकमा सहभागी एक नेताले भने, यो विषय पार्टीको हो, सांसदलाई गाली गर्ने होच्याउने काम राम्रो हैन, दलको निर्णयमा सांसदहरूले मतदान गर्नु भएको हो ।’  पदाधिकारी बैठकमा पनि यो विषयमा छलफल भएको थियो । कोशी नामकरणको बारेमा दलको तर्फबाट जिम्मेवारी लिन तयार हुनु पर्ने र त्यसको जिम्मेवारी दलले लिएको उनले बताएका थिए । 
नामकरणको बिषयले प्रदेश कमिटीको बैठकमा समस्या हुने बारेमा मङ्गलवार नै पदाधिकारीहरू सहित केन्द्रीय सदस्य जवाफ  दिन पूर्ण तयारीमा  थिए ।  मङ्गलवार होटल स्वागतममा  पदाधिकारी र केन्द्रीय कमिटी सदस्यहरूको बैठक बसेको थियो ।  सो बैठकमा कोशी प्रदेश नलेखी ब्यानर बनाउने सहमति भएको थियो । नेकपा माओवादीको प्रदेश कमिटीको बैठकमा कुन प्रदेश कमिटीको बैठक बसेको हो भन्ने नै थाहा नहुने गरी बैठक बसेको थियो ।maobadii
पदाधिकारी र केन्द्रीय सदस्यको बिचमै विवाद
बुधवार प्रदेश कमिटीको बैठक बसेको थियो । अघिल्लो दिन नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी सदस्य र प्रदेश पदाधिकारी बैठकमा ब्यानर के हाल्ने भन्ने बारेमा विवाद भएको थियो ।  बुधवार कोशी प्रदेश नामकरण पछिको पहिलो बैठक थियो ।  प्रदेशको नामकरणपछि आधिकारिक  रूपमा प्रदेशको पार्टी कमिटीको पूर्ण  बैठकमा नामकरणको विषय फेस गर्नु पर्ने भएकोले ब्यानरमा के लेख्ने भन्ने बारेमा कुरा बाझिएको थियो । तर त्यही बैठकले पहिलो बैठक भएको कारण कोशी नाम नै नलेखी ब्यानर बनाउने सहमति भएको बैठकमा सहभागी केन्द्रीय कमिटीका एक सदस्यले बताए । 
विभिन्न मत अभिमतहरू आउन सक्ने डर थियो, ती नेताले भने,  ब्यानरमा के लेख्ने भन्ने बारेमा पनि विवाद भएको थियो, प्रदेश कमिटीको बैठक भनेर मात्र जाऊँ भन्ने अन्तिम निष्कर्षमा पुगियो ।’
संविधान र कानुन बाहिर कोही जान नसक्ने भए पनि  कोशी प्रदेश नै उल्लेख नगरी नेकपा माओवादी केन्द्रको प्रदेश बैठक बसेको हो ।   पार्टीले निर्णय गरेर कोशी प्रदेश राखेको माओवादीका १२ जना सांसदले कोशी प्रदेश कै पक्षमा मतदान समेत गरेका थिए । अहिले आएर प्रदेशको नाम  समेत नराखी बैठकको आयोजना गर्नुलाई पार्टी भित्रैका केही नेताले राम्रो मानेका थिएनन् । पहिलो बैठक, फेस सेफको लागि पनि बैठकमा प्रदेशको नामै नराखिएको नेताहरूले बताउँदै आएका छन् ।  
मङ्गलवारको पदाधिकारी र केन्द्रीय सदस्यको बैठक र बुधवारको प्रदेश कमिटीको बैठकले तत्काल नाम फेर्न सक्ने अवस्था नभएको भन्ने बारेमा कार्यकर्तालाई बुझाएर जाने  सहमति बनेको छ । तर  पहिचानको मुद्दालाई नछाड्ने र आगामी निर्वाचनमा पहिचानको मुद्दालाई नै मुख्य एजेन्डा बनाएर जाने र त्यसैको आधारमा पहिचानका पक्षधरहरूको मत आफ्नो पक्षमा पार्ने गरि रणनीति बनाएर जाने बारेमा माओवादीको बैठकमा छलफल भएको थियो ।  बैठकले पार्टीले सुरु गर्न लागेको अभियानलाई व्यापक बनाउन अन्तरपालिका कार्यक्षेत्र विभाजन गरेर गाउँ गाउँमा गएर अभियान चलाउने बारेमा पनि छलफल भएको थियो ।

विराटनगर महानगरपालिका ४ स्थित  होटल मनास्लु इनको सभा हलमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कोशी प्रदेश समितिको आयोजना भएको थियो ।  प्रदेश कमिटी अध्यक्ष हर्क नेम्वाङको अध्यक्षता,  नेकपा माआवबादी केन्द्र कोशी प्रदेश इन्चार्ज चक्रपाणि खनाल(बलदेव)को प्रमुख आतिथ्य,  पोलिटब्युरो सदस्य शिवकुमार मण्डल, केन्द्रीय सदस्य तथा  कोशी प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर आङ्बो, कोशी प्रदेश सभा सदस्यहरू जीवन आचार्य, गणेश उप्रेती (सुशील), गीता तिम्सिना, केन्द्रीय सदस्य कुशल लिम्बु , केन्द्रीय कमिटी सदस्यहरू, कोशी प्रदेश अन्तर्गतका १४ वटा जिल्लाका जिल्ला अध्यक्ष सहित पदाधिकारीहरू लगायत करिब २०० जनाको उपस्थिति थियो ।  नेकपा माओवादी केन्द्रको केन्द्रीय सर्कुलर अनुसार ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कोशी प्रदेश समितिको पाँचौँ पूर्ण बैठक बसेको हो ।