इटहरी । इटहरी उपमहानगरपालिका ४ स्थित टेग्राखोलाको किनारमा एक महिलाको शव फेला परेको छ । वडा नम्बर ४ को सेतो बङ्गला बोर्डिङ स्कुल भन्दा केही पर टेङ्ग्रा खोलाको किनारमा घोप्टो परेको अवस्थामा अन्दाजी ३५ वर्षीय महिलाको शव भेटिएको हो ।
खोलाको किनारमा महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी माधव काफ्ले जानकारी दिए । 
शवलाई उठाएर पोस्टमार्टमका लागि धरान स्थित वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको डिएसपी काफ्लेले जानकारी दिए । 
शव सङ्खुवासभा मादी घर भई हाल इटहरी ४ मा कोठा भाडामा बस्दै आएकी सीता लिम्बूको भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
शवको प्रकृति हेर्दा हत्याको आशङ्का गरिएको छ । महिलाको शरीरका विभिन्न भागमा निल डाम देखिएका छन् । कुटपिट गरी फालिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । 
 मृतक महिलाका श्रीमान् इन्भारो केयर कन्सन प्रा.लिमा फोहोर व्यवस्थापनमा काम गर्दै आएको स्थानीयले बताएका छन् । मृतक महिला र उनका श्रीमान् बिच झगडा भइरहने स्थानीयको भनाई छ । 
महिलाको हत्यामा स्थानीयले श्रीमानको संलग्नता हुन सक्ने बताएका छन् । हत्याको आशङ्कामा प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।