सुनसरी । सुनसरीको धरानमा गोरु काटेर मासुको भोज खाने कार्यक्रम गरी प्रचार गरिएको प्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ ।
राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन ।
केही दिन अघि धरानमा एक कार्यक्रम गरी गोरुको मासुको भोज खाने कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा पुगेका केही व्यक्तिहरूले सामाजिक सञ्जालमा गोरुको मासु खाएको भन्दै पोस्ट गर्दै प्रचार गरेका थिए ।
सामाजिक सञ्जाल टिकटक बनाएर प्रचार गरिएको थियो । सो भिडियो तथा पोष्टहरु अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ ।
सार्वजनिक रूपमा प्रचार प्रसारलाई तीव्र बनाएपछि राप्रपाले सार्वजनिक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो । राप्रपाले जारी वक्तव्यमा भनिएको छ ‘सार्वजनिक रूपमा गोरु काट्नु त्यसलाई मिडियामा ल्याउनु, सामाजिक सञ्जालमा पोस्ट गर्नु दुःखद र आपत्तिजनक छ ।’
सामाजिक सद्भाव खलबल्याउने गरी भएको गतिविधि प्रति गम्भीर ध्यानाकर्षण भएको राप्रपाले जनाएको छ ।
राप्रपाले घटनाका सम्बन्धमा गम्भीर बन्न र तदारुकता देखाउन नेपाल सरकारलाई पनि ध्यानाकर्षण गराएको छ ।