धरान । धरानको भानु चोकमा रहेको घण्टाघरमा कार्यरत श्रमिक कर्मचारीलाई बिना कारण जागिरबाट निकालिएको भन्दै तीन ट्रेड युनियनले मेयर हर्कराज राईलाई ज्ञापन पत्र बुझाएका छन् ।
अखिल नेपाल ट्रेड युनियन महासङ्घ, ट्रेड युनियन महासङ्घ र नेपाल ट्रेड युनियन काँग्रेसले आज मेयर राईलाई संयुक्त ज्ञापन पत्र बुझाउँदै १ हप्ताभित्र पुनर्बहाली गर्न माग गरेका छन् । कर्मचारीलाई पुनर्बहाली नगरे आन्दोलन गर्ने ट्रेड युनियनहरूले बताएका छन् ।
घण्टाघर स्थापनाकालदेखि नै धरान २ का नरबहादुर लिम्बु र धरान १४ का प्रकाश राई माली तथा चौकीदारको रूपमा कार्यरत थिए । उनीहरूलाई केही सममय अघि बिना कारण उपमहानगरपालिकाले कामबाट हटाएको थियो ।
लामो समयदेखि श्रम गर्दै आएका ज्यालादारी श्रमिकलाई विना कारण जागिरबाट हटाउनु निश्चय नै श्रमप्रतिको घोर अपमान भएको पनि ज्ञापन पत्रमा भनिएको छ ।
न्यूनतम ज्याला लिएर काम गर्दै आएका श्रमिकलाई काम बाट विमुख गराउने घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
श्रमिकलाई नियुक्त नगरे सशक्त आन्दोलनमा जान बाध्य हुने साथै यसबाट उत्पन्न हुने जस्तो सुकै परिणामको जिम्मेवार स्वयम नगर प्रमुख नै हुने मजदुर नेता सम्सेर बर्देवाले बताए ।
यता, ज्ञापन पत्र बुझ्दै मेयर हर्कराज राईले उमेर हदका कारण श्रमिकलाई बिदा दिएको बताएका छन् ।
उनले बालबालिका र ज्येष्ठ नागरिकलाई श्रममा राख्न नमिल्ने बताए । मेयर राईले आफन्त नियुक्त गरेको विषयमा नगरवासी सबै आफ्ना आफन्त रहेको प्रतिक्रिया दिएका छन् ।