विराटनगर । युवा सङ्घका बेलबारी नगर कमिटी अध्यक्ष ३४ वर्षीय काशीराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बलात्कार आरोपमा प्रहरीले साउन ३२ गते बिहीबार पक्राउ गरेको हो । असार २ गते बलात्कार गरेको भनेर २० वर्षीय युवतीले किटानी जाहेरी दिएपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार तामाङविरुद्ध साउन २४ गते किटानी जाहेरी परेको थियो । तामाङ रेस्टुरेन्ट पनि चलाउँछन् । उनले पोल लाइट रेस्टुरेन्टमा आफूलाई बलात्कार गरेको युवतीले बताएकी छन् । तामाङविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको डिएसपी दाहालले बताए ।