धरान । धरानमा चौथो बृहत् खुल्ला लाखे नाच प्रदर्शनी तथा लाखे नाच प्रतियोगिता आयोजना हुने भएको छ । नेवा: देय् दबू धरानको आयोजनामा भाद्र १८ गते भानु चोकमा खुल्ला लाखे नाच प्रतियोगिता हुने भएको हो ।
शनिवार पत्रकार सम्मेलनको आयोजना गरी नेवा: देय दबुले लाखे नाच प्रदर्शनी र प्रतियोगिता बारे जानकारी गराएको हो ।
लाखे नाच प्रतियोगितामा सुनसरी जिल्ला भरिका लाखे नाचहरूलाई संस्थागत एवम् खुल्ला समूहगत रूपमा सहभागी गराइने नेवा: देय् दबू धरानका अध्यक्ष मनोहर शाक्यले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद २५ हजार र प्रमाणपत्र, दोस्रो हुनेलाई नगद १५ हजार, प्रमाणपत्र, तेस्रो हुनेलाई नगद १० हजार र प्रमाण पत्र, सान्त्वनालाई नगद ५ हजार र प्रमाण पत्र प्रदान गरिने अध्यक्ष शाक्यले बताए ।
प्रतियोगितामा सहभागिता जनाउनेले भाद्र १५ गते भित्र नाम दर्ता गरिसक्नुपर्नेछ । संस्थागत वा खुल्ला समूह जुन सुकै भए पनि सहभागी लाखे दर्ता गर्न नगद २ हजार शुल्क लाग्ने अध्यक्ष शाक्यले जानकारी दिए ।
प्रतियोगिता तथा प्रदर्शनीलाई व्यवस्थित बनाउन ९ बुँदे आचार संहिता पनि जारी गरिएको छ । धरानमा आफूखुसी लाखे नाच देखाउँदै पैसा उठाउने गरेको गुनासो बढेसँगै लाखे नाचलाई पनि व्यवस्थित बनाउन थालिएको हो ।
अघिल्लो वर्ष देखी नेवा: देय् दबू धरान समितिमा सूचीकृत भएका समूहहरूले मात्रै लाखे नाच देखाउन पाउने व्यवस्था गरिएको थियो । यस वर्ष पनि लाखे नाचलाई मर्यादित तथा व्यवस्थित बनाउन ९ बुँदे आचार संहिता जारी गरिएको हो ।
यो वर्ष भाद्र ४ गते नाग पञ्चमीको दिन देखी लाखे नाच सुरु हुनेछ । हाल सम्म लाखे नाच्न २२ वटा समूह नेवा: देय् दबू धरान समितिमा सूचीकृत भएको सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
धरानमा बसोबास गर्ने नेवार समुदायमा हरेक वर्ष नाग पञ्चमीको दिन देखि कृष्ण अष्टमीको भोलिपल्टसम्म लाखे नाच्ने परम्परा रहेको छ ।।