सुनसरी । सुनसरीको रामधुनी नगरपालिको एक होटेलबाट नक्कली नोट सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

रामधुनीको एक थारु कटेजमा खाजा खाएर पैसा तिर्न खोज्दा नक्कली नोट दिएपछि स्थानीय ३७ वर्षीय रोशन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । रामधुनीका स्थानीय विक्रम चौधरीले सञ्चालन गरेको थारु कटेजमा उनी खाजा खान गएका थिए । 
होटेलमा आफूले खाएको पैसा तिर्ने क्रममा उनले पाँच सयका नक्कली नोट दिएका थिए । ती व्यक्तिले नक्कली नोट दिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पलकीको टोलीले रोशन चौधरीलाई पक्राउ गरेको हो । 
पक्राउ परेका रोशनको साथबाट प्रहरीले पाँच सयका दरका ३५ वटा नक्कली नोट बरामद गरेको छ । 
उनको विषयमा थप अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ ।