इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ४मा भेटिएको महिलाको शव, उनकै श्रीमानले हत्या गरी फालेको पाइएको छ । पाँच दिन अघि इटहरी ४ मा टेग्राखोला किनारमा एक महिलाको शव भेटिएको थियो ।
संखुवसभा स्थायी घर भई सोही ठाउँमा डेरा गरी बस्ने ३५ बर्षीय सीता लिम्बुलाई उनकै श्रीमान् दिपेन राईले कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमती हत्या आरोपमा प्रहरीले ३९ वर्षीय दिपेन लिम्बुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । घरायसी विवादका क्रममा कुटपिट गरी हत्या गरेको माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा दीपेनलाई प्रहरीले पक्राउ गरेको हो ।
घटना भएको भोलीपल्ट(साउन ३२ गते)मृतक सीताका भाइ धन बहादुर लिम्बुले दिदीको हत्या दिपेन लिम्बुले नै गरेको भनी किटानी जाहेरी दिएकाले पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको इटहरीका डिएसपी माधव काफ्लेले जानकारी दिएका छन् ।
डिएसपी काफ्लेका अनुसार सीताको शरीरमा नीलडाम देखिएकाले हत्या भएको त्यति बेलै देखी आशङ्का गरिएको थियो । घटनाको अनुसन्धान जारी रहेको र पोस्टमार्टम रिपोट आएपछि थप कुरा खुल्ने उनले बताए । घटनाको विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।