सुनसरी । सुनसरीको धरानमा धार्मिक, सांस्कृतिक तथा जातीय द्वन्द्व सृजना हुन लागेको भन्दै  नेकपा एमाले धरान नगर उपमहानगर कमिटीले ध्यानाकर्षण गराएको छ । 
धरानमा पछिल्लो समय धार्मिक, सांस्कृतिक तथा जातीय द्वन्द्व सृजना गर्ने खालका गतिविधिमा नगर प्रमुखको अप्रत्यक्षरुपमा संलग्नता देखिएको एमाले धरान नगर कमिटीले आरोप पनि लगाएको छ । 
पछिल्ला केही दिनमा धरानमा धार्मिक तथा सांस्कृतिक स्वतन्त्रताको नाममा अराजक गतिविधिहरू बढेको भन्दै कानुनी राज्यमा यस्ता गतिविधिहरू स्वीकार्य नहुने नगर कमिटीले विज्ञप्ति मार्फत सचेत गराएको छ ।
नेकपा एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्क जङ एभेङ लिम्बु तथा सचिव राजेन्द्र राईले एक विज्ञप्ति गर्दै नेकपा एमाले बहुपहिचान,धार्मिक निरपेक्षता तथा सांस्कृतिक एकताको पक्षमा रहेको बताएका छन् । 
‘बहुसाँस्कृतिक नेपाली समाजको एकता र अखण्डतालाई प्रहार हुने गरी सामाजिक सञ्जाल तथा सार्वजनिक स्थानहरूमा विभिन्न पक्षबाट भई रहेका गतिविधिहरूमा समाजको विविधतालाई कायम राख्ने भन्दा भड्काउने खालका देख्न सकिन्छ । कतिपय यस्ता गतिविधिमा अप्रत्यक्षरुपमा नगर प्रमुखको समेत संलग्नता देखिनु आफैमा दुः खत हो ।’ अध्यक्ष तथा सचिवद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा भनिएको छ । 
एक पक्षले अर्को पक्षलाई दोषारोपण नगरी समस्या समाधानका लागि आपसी छलफल र वार्ताबाट समाधान गर्न तथा धरानको धार्मिक,सांस्कृतिक तथा सामाजिक एकतालाई कायम राख्न नेकपा एमाले धरान नगर कमिटीले सबैलाई आह्वान पनि गरेको छ । 
uml dharan