विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको धरानमा सत्तागठबन्धनले धार्मिक द्वन्द्व र साम्प्रदायिक सद्भाव बिथोल्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले सद्भाव बिथोल्ने र द्वन्द्व मच्याउने क्रियाकलापमा गठबन्धनका कार्यकर्ताहरु लागिपरेको जिकिर गरेका छन् ।
सरकारको नेतृत्व गरिरहेको माओवादी र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भूमिका बढी रहेको आरोप उनले लगाए ।
‘यस्तो क्रियाकलाप सत्ता गठबन्धनबाहेक अरु कसैले गर्नै सक्दैन,’ ठोकुवा गर्दै अध्यक्ष ओलीले भने, ‘नेपालमा अस्थिरताको परिस्थिति निर्माण गराउने प्रयास भइरहेको छ ।’
कोसी प्रदेशको पक्षमा भोट हालेर अर्कातिर नारा जुलुस गराउने काम पनि प्रचण्डले नै गरेको ओलीको दाबी छ ।
‘एकातिर कोसी प्रदेशमा भोट हाल्छ । अर्कातिर बाहिर निस्किएर नारा जुलुस गर्छ । तोडफोड गर्छ, मान्छे मार्छ र मराउँछ, ढुंगा हान्छ र हनाउँछ,’ उनले भने, ‘यो प्रचण्ड नेतृत्वकै मोर्चाले गरेको हो । यस्ता गतिविधिमा प्रचण्ड र माधव नेपालकै पार्टीका मान्छेहरु बढी छन् । जसपा पनि होला ।’
कोसी प्रदेशमा एमालेकै नेतृत्वमा सरकार बन्ने अध्यक्ष ओलीले दाबी गरेका छन् ।
‘कोसीमा एमालेको सरकार बन्छ र चल्छ । मजाले चलाउँछ एमालेले,’ ओलीले भने । एमालले ४७ (बहुमत) पु¥याउनु प¥यो नि त भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘४७ हैन ५० भन्दा बढी पुग्छ ।’
‘कोसीमा सरकार नबनेको कहाँ हो र ? सरकार बनाएँ भन्ने, अनि सभामुखलाई भोट हाल्न लगाएर असंवैधानिक क्रियाकलाप गर्ने । सभामुखलाई राजीनामा गराएर संकट खडा गर्नेजस्ता क्रियाकलाप गठबन्धनले गरेकाले समस्या खडा भएको हो,’ ओलीले भने ।
संविधान मान्छु भनेर आएको माओवादीले पछिल्लो समयसमेत संविधान नमानेको उनले बताए ।
‘दलहरु मिलेर जिम्मेवारीवोधका साथ अगाडि बढ्नुपर्छ । यसमा दुई मत छैन । गिरीबन्धु टी–स्टेटको कुरा निकाल्नु भनेको ‘चिल आयो, चिल आयो भनेर कुखुरा चोर्ने’ तरिका हो,’ ओलीले भने, ‘तस्करी भयावह भइरहेको छ । यो देशको इज्जत, अर्थतन्त्र र आर्थिक उन्नतिका लागि धेरै गम्भीर कुरा हो । भ्रष्टाचार र तस्करी रोक्नुपर्छ ।’
सरकारतिर एमालेको ध्यान नरहेको जिकिर पनि ओलीले गरे । एमालेको ध्यान राजनीतिक स्थिरता, स्थिायित्व, सुशासन, आर्थिक विकास तथा भ्रष्टाचार र तस्करी नियन्त्रणमा केन्द्रित रहेको दाबी उनको छ ।