सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज राति १२ बजेदेखि धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

सुरक्षा निकायसंग समन्वय गरी बाहेक सामुहिकरुपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, र्याली भेला जस्ता प्रदर्शन लगायतका कुनै पनि कार्यक्रमहरु नगर्न-नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्र निषेधादेश जारी गरिएको प्रमुख जिल्ल अधिकारी हुमकला पाण्डेले जानकारी दिइन ।

धरान उपमहानगरपालिका क्षेत्र धार्मिक, साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम आज राती १२ बजेदेखि भोली राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सबै आयोजनाका लागि निषेधादेश जारी गरेको हो ।

आदेश विपरीत भए गरेको पाइएमा वा अटेर गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारवाही गरिने जिल्ला प्रशासन सुनसरीले जनाएको छ । धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले भोली शनिबार प्रदर्शनको आह्वान गरेका छन । त्यसको प्रतिकारमा समेत उत्रने संभावना देखिएपछि निषेधाज्ञा जारी गरिएको हो ।

प्रशासनले आज सांझबाट नै धरान प्रवेशमा कडाइ गरिएको जनाएको छ ।

निषेधाज्ञा धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र न.पा. १ मा पर्ने झण्डा चौक देखि धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी न.पा. ६ नं. बाट बराहक्षेत्र न.पा. वडा नं. ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र, धनकुटा जिल्ला साँगुरीगढी गा.पा. वडा नं. ६ भेडेटारबाट धरान तर्फकोक्षेत्रमा तोकिएको छ ।