सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा २४  घण्टे  निषेधाज्ञा जारी गरेपछि धरानको मुख्य बजार बिहानैबाट सुनसान देखिएको छ ।
सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामुहिकरुपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, रयाली भेला जस्ता कार्यक्रम, प्रदर्शन लगायतका कुनै पनि कार्यक्रमहरू गर्न नपाइने प्रशासनले आदेश जारी गरेको छ ।
धरान उपमहानगरपालिका क्षेत्र धार्मिक, साम्प्रदायिक साथै जनस्वास्थ्य सङ्कट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई  मध्यनजर राखी सङ्क्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम गए राति १२ बजेदेखि आज राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सबै आयोजनाका लागि निषेधाज्ञा जारी भएको हो ।

यसका साथै धरान प्रवेश गर्ने चारै तर्फको नाकाहरूमा समेत चेकजाँचमा कडाइ गरिएको छ ।