काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले सुनसरीको धरानमा साम्प्रदायिक हिंसा भड्किन सक्नेतर्फ संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले शनिबार एक विज्ञप्ति जारी गरी स्थानीय सरोकारवालाहरूलाई सामाजिक सद्भाव कायम राख्न र वार्ताको माध्यमबाट समस्या समाधान गर्नसमेत आग्रह गरेको छ । आयोगका प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै संयमता अपनाउन एवं सामाजिक सद्भाव कायम राख्न भनेको छ ।

एक आपसमा देखिएका विमतिहरुलाई वार्ताको माध्यमबाट समाधान खोज्नसमेत आयोगले सबैपक्षसँग आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार राति १२ बजेदेखि २४ घण्टाको लागि धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गर्दा उत्पन्न परिस्थितिप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानार्षण भएको भन्दै घटनाको विभिन्न माध्यमबाट जानकारी र अनुगमन गरिहेको आयोगको भनाइ छ ।

धरान उपमहानगरपालिका क्षेत्रमा केही दिनअघि गोरु काटेको र हिन्दू मन्दिर अगाडि चर्च बनाएको विषयलाई लिएर स्थानीयले र्‍याली निकाल्ने तयारी गरिरहँदा साम्प्रदायिक, सामाजिक, साँस्कृतिक एवम् राजनीतिक हिंसा भड्किन सक्ने संभावित घटना रोक्न सबैपक्षको ध्यानआकार्षण गराएको हो ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा विभिन्न महासन्धिका व्यवस्थाबमोजिम समेत सामाजिक सद्भाव कायम राख्नु सबैको दायित्व भएको आयोगले सबैको स्मरण गराएको छ ।