सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रमा जारी गरेको २४ घण्टे निषेधाज्ञा गयराती १२ बजे देखी हटेको छ ।
शुक्रवार जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै धरानमा निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा खुलेसँगै बजार पसल  लगायत यातायातका साधन बिहानैबाट चल्न थालेका छन् ।
शनिवार धरानमा श्रीवैशणव परिषद् नेपाल, विश्व हिन्दु परिषद् नेपाल, समग्र वैदिक सनातन समुदाय लगायतले गोरक्षा शान्ति र्‍याली गर्ने तयारी गरेको थियो । धरानमा निषेधाज्ञाका बाबजुद  धार्मिक तथा सद्भाव रयाली निकाल्न इटहरीबाट धरान हिँडेको प्रदर्शनकारी प्रहरीले तरहरा स्थित पानीपियाको जङ्गल क्षेत्रमै छेकेर रोकेको थियो । उक्त घटनापछि अहिले अवस्था सामान्य भएकाले जनजीवन सामान्य बनाउन निषेधाज्ञा खोल्ने निर्णय गरिएको सुनसरी प्रशासनले जनाएको छ ।
सामाजिक सञ्जालमा आएका विषयहरू प्रहरीको अनुसन्धानकै क्रममा रहेकोले आवेगमा आएर प्रदर्शन नचर्काउन प्रशासनले सबैमा आग्रह गरेको छ ।
पछिल्लो समय धरानमा सामाजिक सद्धभाव बिग्रन नदिन विभिन्न राजनीतिक दल र सङ्घ संस्थाबाट चिन्ता व्यक्त गर्दै उनीहरूले सामाजिक सद्धभाव कायम गर्न आग्रह गरेका छन् ।