सुनसरी । सुनसरीको धरान स्थित घण्टाघरमा कार्यरत कर्मचारीको पुनर्बहाली गर्न माग गर्दै आन्दोलित मजदुरहरूलाई नगर प्रहरीले धरपकड गरेको छ । 
स्थापनाकाल देखी कार्यरत दुई जना कर्मचारीलाई अन्यायपूर्ण तरिकाले निकालेको भन्दै मजदुरहरू आन्दोलित भएका हुन । आन्दोलनरत मजदुहरुले आज घण्टाघरमा ताला लगाउने क्रममा धरान उपमहानगरपालिकाका नगर प्रहरीहरूले धरपकड गरेका हुन । 
 पूर्वनिर्धारित कार्यक्रमअनुसार आज घण्टाघरमा ताला लगाउने क्रममा मजदुरमाथि नगर प्रहरीले धरपकड गरेको सङ्घर्ष समितिका संयोजक सम्शेर वर्देवाले जानकारी दिए ।
ताला लगाउन पुगेपछि नगर प्रहरी र मजदुर बिच केही समय घम्साघम्सी भएको थियो । नगर प्रहरीले ताला लगाउन रोकेको थियो । नगर प्रहरीले रोकेपछि मजदुरहरूले नाराबाजी गरेका थिए । 
घण्टाघर स्थापनाकाल देखी कार्यरत राज लिम्बू र प्रकाश राईलाई विना कारण उपमहानगरपालिकाले निष्कासन गरेको थियो । मजदुर निकालेपछि संयुक्त ट्रेड युनियन सङ्घर्ष समितिले घण्टाघरमा शुक्रवारदेखि आन्दोलन गर्दै आएका थिए । 
यता, धरान उपमहानगरपालिकाले भने उमेर हदका कारण निष्कासन गरिएको बताउँदै आएको छ ।