सुनसरी । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कुनै एक ठाउँबाट साम्प्रदायिक फैलिए त्यसको ज्वाला देशैभरि जाने खतरा रहेकोले धार्मिक सद्भाव कायम राख्न सबैले भूमिका खेल्नुपर्ने बताएका छन् ।
आइतबार नेपाली काँग्रेस सुनसरी क्षेत्र नं-१ ले सञ्चालन गरेको ‘ग्रिन एन्ड क्लिन धरान अभियान -२०८०’ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसका नेता कोइरालाले यस्तो बताएका हुन ।
कोइरालाले अस्थिरता चाहने तत्वहरूले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्न कोसिस गरिरहेकोले यसतर्फ सचेत हुनुपर्ने बताए ।
देशमा साम्प्रदायिक द्वन्द्वको बीजारोपण गरेर सामाजिक-धार्मिक सद्भाव बिथोल्न खोजिएको उल्लेख गर्दै त्यो कदापि स्विकार्न नसक्ने कोइरालाको भनाई थियो ।
कोइरालाले हरेक भाषा भाषी र जातजातिलाई आफ्नो धर्म मान्न पाउने अधिकार संविधानले ग्यारेन्टी गरेको उल्लेख गर्दै धर्मका नाममा राजनीति गर्न नहुने बताए ।
धरानमा पछिल्लो समय सामाजिक सद्भाव बिथोल्ने प्रयास भइरहेको कोइरालाले उल्लेख गरे । उत्तेजना र बहकाउमा नलागी जातीय र धार्मिक सद्भाव कायम गर्दै संयमित हुन कोइरालाले धरानवासीमा आग्रह समेत गरे ।