सुनसरी । मजदुरलाई पुनर्बहाली गर्ने नगरप्रमुख हर्क साम्पाङको आश्वासनपछि मजदुरहरूले दुई दिनदेखि धरानस्थित घण्टाघरमा लगाइएको ताला खोलेका छन् ।
ट्रेड युनियन महासङ्घ संयुक्त सङ्घर्ष समितिका पदाधिकारी र नगरप्रमुख साम्पाङबीच भएको वार्तामा कार्यपालिकामा निर्णय गरी समस्या समाधान गर्ने सहमतिपछि ताला खुलेको हो ।
बैठकबाट कर्मचारीको पुनर्बहाली हुने सङ्घर्ष समितिका संयोजक शमशेर वर्देवाले विश्वासले बताए ।
कार्यपालिका बैठकमा उमेर हदका कारण निकालिएका मजदुरहरूलाई थप एक वर्षका लागि कार्यकाल थपिदिने वा चित्त बुझ्दो अनुदानस्वरुप सहयोग गर्ने प्रस्ताव कार्यपालिका बैठकमा पेस हुने बताइएको छ ।
सङ्घर्ष समितिले दश दिन अगाडि नगर प्रमुख साम्पाङलाई निर्णय सच्याउन ज्ञापन पत्र बुझाएको थियो ।
प्रमुखले चासो नदिएपछि घण्टाघर परिसरमा १ घण्टा धर्ना दिँदै आन्दोलन सुरु गरिएको थियो ।
आन्दोलनको बेवास्तापछि मजदुरहरूले आइतबार घण्टाघरमा तालाबन्दी गरेका थिए ।
शनिवार नै तालाबन्दी गर्ने कार्यक्रम रहे पनि निषेधाज्ञाको कारण आइतबार गरिएको थियो ।