सुनसरी । त्रि-वर्षीय तथ्याङ्क विश्लेषण गर्दा कोसी प्रदेशमा बर्सेनि औसत ८० प्रतिशतले सडक दुर्घटनामा वृद्धि भइरहेको छ । झन्डै २७ प्रतिशतले मानिसको मृत्यु र २९ प्रतिशतले घाइतेको सङ्ख्यामा वृद्धि भइरहेको अत्यासलाग्दो अवस्था देखिएको छ ।

गएको वर्ष कोसी प्रदेशमा भएका ३ हजार ८ सय २६ सडक दुर्घटनामा ५ सय ३१ जनाको ज्यान गयो । १ हजार १ सय १४ जना गम्भीर र ५ हजार ४ सय ४५ जना घाइते भएका थिए । ट्राफिक प्रहरीले सडक दुर्घटना बढ्नुमा मानवीय कारणलाई मुख्य मानेको छ । जसमा ५३ प्रतिशत दुर्घटना  तीव्र गतिका कारण भएका छन् । यस्तै १६ प्रतिशत दुर्घटनामा चालकको लापरबाही, मादक पदार्थ सेवन, अनुमति पत्र नलिई सवारी चलाउने र सडक प्रयोगकर्ताको असावधानीले दुर्घटना हुने गरेको कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय, इटहरीका प्रहरी नायब उपरीक्षक मोहन विक्रम दाहाल बताउँछन् ।

ट्राफिक प्रहरीले दुर्घटना बढ्नुमा मानवीय त्रुटिलाई प्रमुख कारण माने पनि चालक र यातायात व्यवसायी यस कुरामा पूर्ण सहमत छैनन् । उनीहरू सडक र सवारीको अवस्था,  यान्त्रिक गडबडी, ट्राफिक सङ्केत, सूचना र सचेतिकरणको पाटो कमजोर भएको बताउँछन् ।

सरकार र सडकमा खटिने ट्राफिक प्रहरीको ध्यान दुर्घटना कम गराउने भन्दा पनि राजश्व र कारबाही सङ्ख्या बढाउने रहेको धनकुटाका यातायात व्यवसायी सरोज राई बताउँछन् ।

दुर्घटनामा बढ्नुमा सडकको दुरावस्था, ट्राफिक नियम उल्लघंनका साथै सडकमा ट्राफिक प्रहरीको कमजोर उपस्थिति र सक्रियता पनि हो । कोसी प्रदेशमा १ जना ट्राफिक प्रहरी अनुपातमा २ सय ५८ किलोमिटर सडक र १ हजार ८ सय ७८ सवारी साधन पर्छन् ।

सडक, सवारीको दुरुस्त यान्त्रिक अवस्था, इमानदारीताका साथ सडक नियमको पालना र ट्राफिक नियमको उल्घंनलाई दण्डनीय कसुर मान्ने हो भने, सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने जानकारहरू बताउँछन् ।