सुनसरी । सुरक्षा निकायका प्रमुखहरूले गम्भीर असन्तुष्टि जनाएपछि भदौ १५ गते गर्ने भनिएको भ्रष्ट्राचार विरुद्धको रयाली धरानका उपमहानगरका प्रमुख हर्क साम्पाङले नगर्ने भएका छन् । 
सामाजिक सद्भाव बिग्रने भन्दै सुरक्षा निकायका प्रमुखहरूले नगरप्रमुख साम्पाङ लाई तत्काल कुनै पनि रयाली नगर्न भनेका थिए ।
कोसी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी राजेशनाथ बास्तोला, सशस्त्र प्रहरी बल बराह बाहिनी पलकीका प्रहरी महानिरीक्षक डिआइजी अन्जनी कुमार पोखरेल, सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी प्रभु प्रसाद ढकालले संयुक्त रूपमा भेटेर धरानका नगरप्रमुख साम्पाङ लाई रयाली ननिकाल्न आग्रह गरेपछि उनी पछि हटेका हुन । 
भेटका क्रममा पछिल्लो समय साम्पाङले गरेका गतिविधि तथा सामाजिक सञ्जालमा लेखेको विषयमा सुरक्षा निकायका प्रमुखहरूले गम्भीर रूपमा असन्तुष्टि जनाएका छन् । मङ्गलवार धरान स्थित उनकै कार्यकक्षमा भेटघाट गर्दै सुरक्षा निकायका प्रमुखहरूले साम्पाङ लाई सामाजिक सञ्जालमा सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेको भेटमा सहभागी एक सुरक्षाकर्मीले जानकारी दिए । सो क्रममा सुरक्षा निकायका प्रमुखहरूले साम्पाङ लाई सद्भाव बिथोलिने कुराहरू सामाजिक सञ्जाल फेसबुकमा नलेख्न र उत्तेजक कमेन्ट समेत नगर्न सुझाव पनि दिएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
सुरक्षा निकायले गरेको आग्रहमा नगरप्रमुख साम्पाङले स्वीकार गर्दै फेसबुकमा धेरै नलेख्ने बताएको सुरक्षा स्रोतले बतायो ।
केही दिन अघि मेयर साम्पाङले भदौ १५ गते धरानमा भ्रष्ट्राचार विरुद्ध रयाली निकाल्ने बताएका थिए । उनले देशमा व्याप्त भ्रष्ट्राचार विरुद्ध सचेतना र्‍यालीमा सहभागी हुनका लागि केही दिनयता निरन्तर आह्वान गर्दै आएका  थिए ।
भदौ ९ गते सनातन धर्मावलम्बीहरूले गोवध गरेको भन्दै रयाली निकाल्ने भएपछि प्रशासनले निषेधाज्ञा जारी गर्दै सम्भावित दुर्घटना टारेका थियो । त्यसको केही दिन पछि नै मेयर साम्पाङले भ्रष्ट्राचार विरुद्ध भन्दै र्‍यालीमा सहभागी हुन आह्वान गरेका थिए ।