सुनसरी । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरू र १२० जना नायव प्रहरी उपरीक्षक (डिएसपी)हरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको शुक्रवारको निर्णय अनुसार केही जिल्ला कार्यालयका प्रमुखसहित ठुलो सङ्ख्यामा एसपी र डिएसपीको सरुवा भएको हो ।
सुनसरीका प्रभुप्रसाद ढकाललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आधारभूत तालिम शाखा महाराजगन्ज सरुवा गरिएको छ । सुनसरीमा नयाँ प्रहरी प्रमुखको रूपमा विपिन रेग्मी आउने भएका छन् । सुनसरीका डिएसपी राजकुमार राईको पनि सरुवा भएको छ । राईको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ भने सुनसरीको डिएसपीमा प्रहरी प्रधान कार्यालयबाट नबिन कृष्ण भण्डारी आउने भएका छन् ।
यस्तै भक्तपुरका प्रजित केसीलाई प्रदेश कार्यालय वीरगन्ज, उदयपुरका ज्ञानेन्द्र फुयाँललाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा सरुवा गरिएको छ । कास्कीका एसपी अजय केसीको नेपाल प्रहरी अङ्गरक्षक गण नक्साल सरुवा भएको छ भने बाराका एसपी होबिन्द्र बोगटीलाई केन्द्रीय अनुसन्धान ब्युरो अनुसन्धान महाशाखामा सरुवा गरिएको छ । यस्तै, दाङका प्रमुख वीरबहादुर ओलीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखामा, रौतहटका एसपी वीरबहादुर बुढामगरलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय तालिम शाखा रानी पोखरीमा पठाइएको छ ।
नुवाकोटका रमेश पण्डितलाई प्रदेश कार्यालयको अपराध अनुसन्धान शाखा भैरहवा, डोटीका राजेन्द्रप्रसाद धमलालाई प्रहरी प्रधान कार्यालयको कानुन शाखा सरुवा गरिएको छ ।
पूर्वी नवलपरासीका एसपी भुवनेश्वर तिवारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रशासन शाखा महाराजगन्ज, पश्चिम नवलपरासीका एसपी विनोद सिलवाललाई कोसी प्रदेश प्रहरी कार्यालय, कपिलवस्तुका प्रेमबहादुर बस्नेतलाई नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर पठाइएको छ ।