सुनसरी । सशस्त्र प्रहरी बलको बराह बाहिनी सुनसरीमा गोताखोर तालिम सुरु भएको छ । कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वय तथा सहकार्यमा आइतबार देखी सुरु भएको तालिमको कोसी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्लेले उद्घाटन गरेका छन् ।
नेपालमा चौथो पटक सुरु भएको ‘सिसम-४’ गोताखोर तालिममा दुई जना जनपथ र १८ सशस्त्र प्रहरी गरी जम्मा २० जना जवानहरू प्रशिक्षार्थीको रूपमा सहभागी छन् । गोताखोर तालिम ५ हप्तासम्म सञ्चालन हुने सशस्त्र प्रहरी बल १ नं बराह बाहिनीका डिआइजी अञ्जनी कुमार पोखरेलले बताए । तालिम अवधिमा प्रशिक्षार्थीहरूलाई पोखराको फेवा ताल, कुलेखानी सहित नेपालका विभिन्न ठुला नदीहरूमा प्रशिक्षण दिइने बताइएको छ ।

डुबेर हुने मानवीय घट्नामा विपद् प्रतिकार्यको लागी गोताखोर तालिम अपरिहार्य भएकाले सशस्त्र प्रहरीले नेपालमै चौथो पटक यस किसिमको तालिम सुरु गरिएको डिआइजी पोखरेलले बताए । सशस्त्र प्रहरी बलका २५ जना सुरक्षा अधिकारीले पहिलो पटक २०६९ वैशाखमा बङ्गलादेशमा गोताखोर तालिम लिएर आएका थिए । उनीहरूकै सहयोगमा नेपालमा पहिलो पटक २०७६ असोजमा सशस्त्र प्रहरी बल नम्बर-१ बराह बाहिनी सुनसरीमा गोताखोर तालिम भएको थियो । त्यति बेला १९ जना सशस्त्र प्रहरी कर्मचारीले तालिम लिएका थिए । बराह बाहिनीमा अहिले पुन दोस्रो पटक गोताखोर तालिम आयोजना गरिएको पोखरेलले जानकारी दिए ।
नेपालमा भएको दोस्रो र तेस्रो तालिम सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यवस्थापन शिक्षालयमा सम्पन्न भएको थियो । उक्त तालिमबाट ३९ जना दक्ष जनशक्ति उत्पादन भएको थियो । कूल ३७ हजार जनशक्ति रहेको सशस्त्र प्रहरीसँग अहिले ८३ जना मात्र गोताखोर तालिम लिएका सुरक्षाकर्मी छन् । उनीहरू अहिले मुलुकका विभिन्न गहिरो ताल, तलैया, पोखरी तथा नदीहरूमा डुबी बेपत्ता तथा घाइतेको खोजतलास लगायत उद्धार कार्यमा संलग्न हुँदै आइरहेका छन् । उक्त जनशक्तिले मात्रै सबैतिर नभ्याउने अवस्था भएपछि थप जनशक्ति उत्पादन गर्ने उद्देश्यले पनि तालिमको आयोजना गरिएको बताइएको छ ।
नेपालमै हुने यस किसिमको गोताखोर तालिमले विदेशबाट गोताखोरहरू झिकाई उद्धार गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको डिआइजी पोखरेलले बताए ।