सुनसरी । झुटा विवरण पेस गरी नागरिकता बनाउन सहयोग गरेको भन्दै भद्रपुरका पूर्व वडाध्यक्ष कारागार चलान भएका छन् ।
झापाको भद्रपुर नगरपालिका वडा न. ९का पूर्व वडा अध्यक्ष ५२ वर्षीय शनिलाल राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरी कारागार चलान गरेको हो ।
उच्च अदालत विराटनगर इलाम इजलासको २०८० जेठ २४ गते गरेको फैसला अनुसार तत्कालीन वडाध्यक्ष रहेका राजवंशीलाई झुटा विवरण पेस गरी नागरिकता बनाइदिएको मुद्दामा १ वर्ष ३ महिना कैद र एक लाख जरिवानासहितको सजाय सुनाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।
अदालतको फैसला पछि पनि उनी फरार थिए । फरार रहेका उनलाई पक्राउ गरी अदालतमा पेस गरेर फैसला कार्यान्वयन लागि कारागार चलान गरिएको हो ।
राजवंशीले जानाजान रूपमा नक्कली कागजपत्र बनाएर जिल्ला प्रशासन कार्यालय झापाबाट विसं २०७३ देखि २०७६ सम्ममा १६ जना गैर नेपालीलाई नागरिकता दिन भूमिका खेलेको आरोप रहेको थियो ।