सुनसरी । सुनसरीको दुहबी नगरपालिकाले दलित, सीमान्तकृत र अति बिपन्न ८० परिवारलाई आवासीय घर हस्तान्तरण गरेको छ ।
नगरप्रमुख आवास योजना अन्तर्गत दुहबी ११ तनबुनामा निर्माण गरिएका ८० वटा आवासीय घरहरू नगरका अति बिपन्न परिवारलाई हस्तान्तरण गरिएको हो ।
aawasiya ghar 1
७ करोडको लगानीमा २ बिगाहा २ कट्ठा क्षेत्रफलमा निर्माण सम्पन्न भएको आवासीय बस्तीमा रहेको ८० वटा दुई कोठे घर २०७६ साल फागुनमा शिलान्यास भएको थियो । साढे ४ धुर क्षेत्रफलमा निर्माण गरिएको प्रत्येक घरमा शौचालय सहित खानेपानी, बिजुली जडान गरिएको नगरप्रमुख वेदनारायण गच्छदारले बताए ।
आवासीय बस्तीमा विवाह, व्रतबन्ध लगायत विभिन्न उत्सवको लागि सामुदायिक भवनको समेत व्यवस्था गरिएको छ । घर हस्तान्तरणको लागि नगरपालिकामा परेको २ सय बढी आवेदनबाट छनौट भएका ८० घर परिवारलाई मात्र घर हस्तान्तरण गर्न सकिएको र बाँकी परिवारलाई पनि चाडै घर निर्माण गरी हस्तान्तरण गरिने नगरप्रमुख गच्छदारले बताए ।
aawasiya ghar2
घर पाएका परिवारका बालबच्चाको शिक्षाको लागि नजिकैको विद्यालयमा निःशुल्क पठनपाठनको व्यवस्था मिलाइने र तीनका अभिभावकलाई पनि सिपमूलक तालिम प्रदान गरी स्वरोजगारको व्यवस्था नगरपालिकाले मिलाउने जनाएको छ ।
आवासीय बस्तीको नियमित अनुगमन गरिने र घर ओगटेर अन्यत्र बसोबास गरे कारबाही गरिने नगरपालिकाले जनाएको छ ।