इटहरी । इटहरी उपमहानगरपालिकाले अस्वाभाविक कर वृद्धि गरेको विरोधमा नागरिक समाज इटहरीले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 
आज( मङ्गलवार) पत्रकार सम्मेलन गर्दै नागरिक समाज इटहरीले मौन धर्ना देखी नो ट्याक्स सम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नागरिक समाज इटहरीकी अध्यक्ष बालिका भट्टराईले उपमहानगरलाई कर वृद्धिको विषयमा बारम्बार ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेका कारण बाध्य भएर  चरणबद्ध आन्दोलन जानु परेको बत्ताइन । 
प्रेस विज्ञप्ति र ध्यानाकर्षण गराउँदा उपमहानगरपालिकाले भदौ १७ गते आइतबार देखी कर घट्ने वाचा गरेको तर आज सम्म पनि कुनै छाँटकाँट नदेखिएको समाजकी अध्यक्ष भट्टराईले बताइन् ।
उपमहानगर नेतृत्वमा मुखले एउटा भन्ने तर व्यवहारमा अर्कै काम गर्ने प्रवृत्ति देखिएको अध्यक्ष भट्टराईको भनाइ छ । 
नागरिक समाजले इटहरी उपमहानगरपालिकाले विकासको स्पष्ट गुरु योजना निर्माण गर्न नसकेको, खर्चको प्राथमिकीकरण निर्धारण गर्न नसकेको तर कर वृद्धि गर्दै  नगरवासीलाई करको भार मात्रै थपेको भन्दै असन्तुष्टि जनाएको छ ।  
नागरिक समाज इटहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘इटहरी उपमहानगरपालिकाले हालसम्म न त नगर विकासको योजना बनाएको छ, न त खर्चको प्राथमिकीकरण निर्धारण नै गरेको छ। भएकै विकास बजेट आधा पनि खर्च गर्न नसकिरहेको अवस्थामा कर बापत संकलित रकमले इटहरीको विकास हुने समेत कुनै सम्भावना देखिँदैन ।’
आर्थिक मन्दीको कारण व्यवसायीहरू पलायन भइरहेको र सर्वसाधारणले हातमुख जोर्न समस्या भइरहेको समयमा कर वृद्धि हुन अन्यायपूर्ण भएको समाजले ठहर गरेको छ । उपमहानगरपालिकाले वृद्धि गरेको कर आम इटहरीवासी नागरिकले तिर्न सक्ने अवस्था नभएको,कर तिर्न जग्गा नै बेच्ने अवस्था सृजना भएको समाजले जनाएको छ । 
नागरिक समाजले बढेको करका विरुद्ध भाद्र २० गते देखी चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । जस अनुसार पहिलो दिन भाद्र २० गते जनप्रतिनिधिहरूलाई एसएमएस पठाउने, भाद्र २१ गते सामाजिक सञ्जालबाट कर वृद्धिको विरोध पोस्ट गरी शेयर गर्ने कार्यक्रम रहेको छ । 
यस्तै भाद्र २२ गते इटहरी उपमहानगरपालिकामा अगाडि मौन धर्ना दिने, २३ गते सरोकारवालाहरूसँग छलफल तथा बृहत् भेला गर्ने र २५ गते ‘नो ट्याक्स घोषणा’ गरी बृहत् नागरिक भेला आयोजना गर्ने कार्यक्रम तय गरिएको छ । 
नागरिक समाज इटहरीले उपमहानगरले कर वृद्धि फिर्ता नभएर सम्म आन्दोलन जारी रहने जनाएको छ । पहिलो चरणको आन्दोलनबाट कर वृद्धि फिर्ता नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने नागरिक समाज इटहरीले जनाएको छ ।
nagari samaj  (2)