इटहरी । इटहरीमा पहिलो पटक सङ्गिनी, सिलोक र विरहन गायन प्रतियोगिता हुने भएको छ । ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरू बिचमा लोपोन्मुख भएका सङ्गिनी, सिलोक तथा थारु जातिको विशेष गीति नृत्य विरहन प्रतियोगिता आयोजना हुने भएको हो । 
इटहरी ५मा रहेको बालाजी ज्येष्ठ नागरिक समाजले भदौ २३ गते देखी आयोजना गरेको ज्येष्ठ नागरिक सांस्कृतिक उत्सवमा यी तीन विधामा प्रतिस्पर्धा हुने भएको हो ।  
आज(मङ्गलवार) पत्रकार सम्मेलन गर्दै बालाजी ज्येष्ठ नागरिक समाजले सांस्कृतिक उत्सवको बारेमा जानकारी दिइएको हो ।  
इटहरीका विभिन्न १४ वटा वडाबाट प्रतिनिधित्व गर्दै समूहगत रूपमा तीन विधामा एक सय २८ जनाले प्रतिस्पर्धा गर्दैछन् । 
महिलाहरूमा लोकप्रिय मानिएको सङ्गिनी विधामा १४ वडाका १४ समूहका ७७ जना ज्येष्ठ महिलाहरूले प्रतिस्पर्धा गर्दैछन् । 
पुरुषहरूले गाउने सिलोक विधामा पनि १४ वडाका १४ समूहका २५ जना पुरुषहरू बिच प्रतिस्पर्धा हुनेछ । 
यता, इटहरीको पहिलो जाति थारु महिला तथा पुरुषले परम्परागत रूपमा गाउने विशेष गीति नृत्य विरहनमा १० वडाका १० समूहका २५ जनाले प्रतिस्पर्धा गर्नेछन् । 
ज्येष्ठ नागरिकका प्रतिभालाई बाहिर ल्याउने तथा लोप हुने अवस्थामा पुगेको संस्कृतिलाई नयाँ पुस्तालाई देखाउँदै हस्तान्तरण गर्न सांस्कृतिक उत्सव आयोजना गरिएको कार्यक्रम संयोजक कृष्ण विनोद लम्सालले जानकारी दिए । 

sangini dance

इटहरीमा पहिलो पटक यस किसिमको कार्यक्रम आयोजना गर्न लागिएको लम्सालले दाबी गरे । उत्सव आयोजना गर्न लम्सालको संयोजकत्वमा ७ सदस्यीय ज्येष्ठ नागरिक सांस्कृतिक उत्सव इटहरी २०८० आयोजक समिति गठन गरिएको छ ।  
प्रतियोगितामा विधागत निर्णयका लागि सङ्गिनी तर्फ कविता केसरी,सिलोक तर्फ हरि बहादुर खत्री, विरहन तर्फ सोमन चौधरी रहनेछन् भने आयोजकको तर्फबाट कृष्णविनाद लम्साल सहितको निर्णायक मण्डलले छनौट गर्नेछ । 
प्रतियोगितामा सहभागी टोलीले आफ्नो परम्परागत भेषभुषामा उपस्थित हुनुपर्नेछ । प्रतियोगिताका तीन वटै विधाका प्रथम, द्धितिय,तृतीय र सान्त्वना लाई क्रमशः पाँच हजार,तीन हजार, दुई हजार र एक हजार पाँच सय पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक कृष्ण विनोद लम्सालले जानकारी दिए । 
प्रतियोगिताका विजेताहरूलाई भाद्र ३० गते एक कार्यक्रम गरी पुरस्कृत गरिनेछ । समापन समारोहमा लोपोन्मुख खैँजडी भजन पनि प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ  ।